
पूर्णपुष्टि, भदौ २८
रोजगारीको शिलशिलामा मलेसिया गएका पर्वतका एक युवा १६ बर्षदेखि बेपत्ता रहेको परिवारले जनाएको छ । लामो समय सम्म परिवारको सम्पर्कमा नाएको भन्दै परिवारले खोजतलास गरिदिन अनुरोध गरेको छ ।
महाशिला गाउँपालिका–१ होश्राङ्दीको अर्गाउदीका उमाराज र विष्णुमाया विकका छोरा सर्वजित विक सम्पर्कविहीन भएका हुन् ।
‘घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौँ तर १६ वर्षसम्म छोराको अत्तोपत्तो छैन, हामी छोराकै पिरले दिनको भोक न रातको निद भएको परिवारले जनाए ।
२०६२ मा मलेसिया गएका सर्वजित हालसम्म परिवारका सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका हुन् ।
छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमायाले सबैलाई अपिल गरेकी छन् । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशामा विदेश गएको छोरा बेपत्ता भएपछि आफूहरु अत्यन्त पिरमा परेको उनले बताइन् ।
काठमाडौँ मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको उनका आफन्त विष्णुराम विकले बताए ।
मलेसिया गएको चार वर्षसम्म छोराले फोन गरिरहने गरे पनि त्यसपछि कुराकानी हुन छोडेको बिष्णुमायाको भनाइ छ ।
लामो समयसम्म पनि छोरा घर नफर्केपछि आमाबाबु पिरोलिने गरेको सर्वजितकी भाउजू सम्झना विकले बताइन् ।
