
पूर्णपुष्टि, फागुन ६ । मुर्कुची ।
उदयपुरको एक प्रतिष्ठित विद्यालय नमुुना माध्यामिक विद्यालयले रौतामाई विज्ञान तथा कला प्रदर्शनी गर्ने भएको छ । उदयपुरको रौतामाई गाउँपालिका ७ मुर्कुची स्थित विद्यालयले ६१ औं वार्षिकोत्सवसंगै आगामी फागुन १० र ११ गते भब्यरुपमा प्रदर्शनी गर्ने भएको प्राध्यापक खड्ग मगरले जानकारी दिए ।
प्रअ मगरका अनुसार प्रदर्शनीमा विज्ञान, कला, सामाजिक र वातावरण गरी चार विद्या समेटेर विद्यार्थी वालवालिकाहरुको प्रतिभा प्रदर्शनी हुनेछ । चारै विधाका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कृत गरिनेछ । प्रदर्शनीमा जिल्ला र छिमेकी जिल्लासमेतका करिब ८० विद्यालयको सहभागिता हुने अनुमान छ ।
रक्तदान कार्यक्रमसहित सुरु हुने उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा पालिका अध्यक्ष बिरेन्द्र मगरले सम्बोधन गर्नेछन् भने भोलीपल्ट समापन समारोहलाई प्रमुख अतिथिको रुपमा संघीय सांसद अम्बर रायमाझीले सम्बोधन गर्नेछन् ।
०७८ सालदेखि नमुना विद्यालयको रुपमा स्थापित सो विद्यालयले वार्षिकोत्सवमा विद्यालयको प्रगति, शैक्षिक, भौतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछ । विद्यालयलाई योगदान गर्नेहरुलाई सम्मान् गर्नेछ ।
भौतिकरुपमा आधुनिक र सुविधा सम्पन्न बन्दै गएको सो विद्यालयमा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यम, कम्प्युटर शिक्षाको ब्यवस्था छ । ०७६ सालदेखि प्राविधिक शिक्षातर्फ सिभिल इन्जिनियरिङ पढाई भइरहेको छ ।
प्रदर्शनी विशेष कार्यक्रमका लागि गाउँपालिका, हुरेण्डेक, रेस्ट, सिडिएस लगायतका संस्थाहरु र उद्योग वाणिज्य संघ मुर्कुचीकोसमेत सहयोग रहने विद्यालयले जनाएको छ ।
