Friday, May 22News That Matters

मानिस विरामी परेपछि अक्सफोर्डले कोरोना खोप परीक्षण रोक्यो

पूर्णपुष्टि, भदौ २४

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका एक जना व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ ।
खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँका करिब ३० हजार मानिसमा परिक्षण गरेकामध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

जाँचपछि सुरक्षा मानकको समिक्षा गरेर मात्रै परीक्षण पुनः शुरु गर्ने वा नगर्ने निर्णय हुने जनाईएको छ । यो घटनाले सबैभन्दा पहिले प्रयोगमा आउने र सुरक्षित हुने ठानिएको खोपको परीक्षण नै स्थगित भएपछि कोरोना विरुद्धको अभियानमा धक्का लागेको संचारमाध्यमहरुले जनाएका छन् ।

अहिले विश्वभरमा करिब एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भैरहेको छ । तीमध्ये सबैभन्दा अगाडि अक्सफोर्ड विश्वविद्यालयको परीक्षण रहेको छ । अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको तेश्रो परीक्षण चल्दै थियो । यो परीक्षण सफल भएमा उत्पादनमा जान सकिने जनाईएको थियो । तर खोप लिएका एक व्यक्ति बिरामी परेपछि परीक्षण नै स्थगित भएको छ ।

धेरै संख्यामा परीक्षण गर्दा एकाध व्यक्ति बिरामी पर्नु सामान्य रहेको विज्ञहरु बताउँछन् । तर ती व्यक्तिको अस्पतालमा जाँच गर्दा बिरामी पर्नुको कारण पत्ता नलागेमा त्यो खोप उत्पादन नै रोकिने जनाएको छ ।