
पूर्णपुष्टि, चैत १९
नेपालमा यही मार्च महिनामा करिब १५ हजार पर्यटक आएका छन् । मार्च महिनामा १४ हजार नौ सय ७७ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ ।
यसमध्ये सबैभन्दा धेरै भारतबाट सात हजार ६ सय ५८ जना नेपाल आएको विभागले जनाएको छ । सरकारले हवाइ मार्गबाट आउने भारतीयलाई पर्यटक मान्दै आएको छ भने स्थलमार्गबाट आउने भारतीयलाई पर्यटक मान्दैन ।
त्यस्तै अमेरिकाबाट १७ सय तीन जना, चीनबाट १२ सय सात जना, बेलायतबाट ६ सय ६५ जना, जर्मनीबाट दुई सय १३ जना र रुसबाट दुई सय ११ जना पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०२१ को तीन महिनामा नेपालमा झण्डै ३३ हजार पर्यटक आएका छन् । जनवरीमा आठ हजार आठ सय र फेब्रुअरीमा नौ हजार एक सय ४६ जना पर्यटक नेपाल आएका थिए ।
त्यस्तै मार्च महिनाभर हवाइ मार्ग हुँदै ७१ हजार दुई सय ७० जना यात्रु नेपाल आएका छन् । यसमध्ये ५६ हजार दुई सय ९३ जना नेपाली रहेको पनि विभागले जनाएको छ ।
