
पूर्णपुष्टि, भदौ २४
हिमाली जिल्ला मुस्ताङमा उत्पादित स्याउ पाक्न थालेपछि बजार पठाउने तयारी सुरु भएको छ । मुस्ताङको विभिन्न स्थानमा लगाइएको स्याउ पाक्न थालेकाले कृषकहरु स्याउ टिप्ने र बजार पठाउने तयारीमा लागेका छन् ।
गत वर्षहरुमा जिल्ला बाहिरबाट कामदार ल्याएर स्याउ टिप्ने गरिएपनि यसवर्ष कोरोना संक्रमणले गर्दा स्याउ टिप्नका लागि स्थानीय नै प्रयोग गर्ने भएका छन् । कोरोना संक्रमणको जोखिमका विच स्याउको बगैचा खरिद गर्ने ठेकेदारलाई स्याउ टिप्ने कामदार ल्याउन रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
स्याउ पाकिसकेको र टिप्ने क्रम सुरु भएकाले टिप्नेदेखि अन्य व्यवस्थापनको काममा स्थानीय नै खट्नुपर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) मुस्ताङको बैठकले स्याउ र तरकारी खरिद बिक्रीको व्यवस्थापनमा स्थानीयलाई नै खटाउनुपर्ने निर्णय गरेको छ ।
बैठकले स्याउ टिप्नका लागि कामदारहरु जिल्ला बाहिरबाट ल्याउन नपाउने निर्णय गरिएको जिप्रका मुस्ताङले जनाएको छ । स्याउको बगैंचा हेर्न र ठेक्का लिन एकजना मात्रै ठेकदार आउन पाउने हुँदा कोभिड–१९ को सबै सुरक्षा मापदण्ड पालना गर्नुपर्ने जनाईएको छ ।
मुस्ताङमा उत्पादित स्याउ स्वदेशी र विदेशी बजारमा खुब रुचाउने गरिन्छ । विगतका वर्षहरुमा तीज पर्वदेखि नै बजारमा पुग्ने मुस्ताङको स्याउ यसवर्ष भने बेनी–जोमसोम सडक अवरुद्ध हुनु र कोरोनाको जोखिमले गर्दा स्याउ बजारीकरणमा ढिलाइ भएको हो ।
यसवर्ष उत्पादनमा कमी आए पनि गुणस्तरीय स्याउ फलेका कारण गतवर्ष भन्दा केही महङ्गो पर्ने कृषकहरुले बताएका छन् । ‘ए’ ग्रेडको स्याउलाई यसवर्ष प्रति कार्टुन २२ सय रुपैयाँ मूल्य तोकिएको छ । गत वर्ष ५ हजार ५ सय २८ मेट्रिक टन स्याउ निर्यात भएकोमा यसवर्ष उत्पादन केही कम भए पनि राम्रोसँग पाक्न पाएकोले मूल्य भने धेरै पर्ने जनाइएको छ ।
अहिले मुस्ताङको स्याउ खरिद गर्न विभिन्न जिल्लाबाट व्यापारीहरु मुस्ताङ आएर क्वरेण्टीनमा बसेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मुस्ताङले जनाएको छ । यसवर्ष कुल १२ सय हेक्टर जमिनमा स्याउ लगाइएकोमा करिब ५ सय हेक्टरको स्याउले उत्पादन दिने भएको छ ।
गत वर्ष १ हजार २ सय हेक्टर जमिनमा स्याउ लगाइएकोमा घरपझोङ गाउँपालिकामा २ हजार ६ सय ९४, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा १ हजार ३ सय ७०, थासाङ गाउँपालिकामा १ हजार ३ सय ६०, लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा १ हजार र लोमान्थाङ गाउँपालिकामा ३ मेट्रिक टन स्याउ उत्पादन भएको परियोजना कार्यान्वयन इकाइले जनाएको छ ।
मुस्ताङमा उत्पादित स्याउ म्याग्दीको सदरमुकाम बेनीबजार हुँदै बागलुङ, कुस्मा, पोखरा, काठमाडौं, नारायणगढ, बुटवल र भैरहवासहित नेपाली र अन्तर्राष्ट्रिय बजारमा पुग्ने गरेको छ । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, स्याङ, कागबेनी, ताङ्बे, छुसाङ र मुक्तिनाथ क्षेत्रमा स्याउ उत्पादन हुँदै आएको छ ।
समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा माथिको उचाइसम्म स्याउखेती हुने गरेको छ । राम्रो व्यवस्थापन गर्न सकेमा एउटै बोटबाट मात्रै ३ क्वीन्टलसम्म स्याउ उत्पादन गर्न सकिन्छ । कृषकहरुले स्याउबाट जुस, ब्राण्डी, जाम, चिप्स, सुकुटी, क्यान्डी, स्लाईडर जस्ता परिकारहरु बनाउँछन् ।
मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउको उत्पादन हुँदै आएको छ ।
