
पूर्णपुष्टि, फागुन २८
मेलम्चीको पानी सरकारले आमागी चैत १५ देखि परीक्षणका रुपमा वितरण थाल्ने भएको छ । चैत १५ देखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने भएको हो ।
अहिले सुरुङबाट आइरहेको मेलम्ची खोलाको पानी सुन्दरीजलबाट बागमती नदीमा छाडिएको छ । शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने छ । सुरुङ भरिन ३–४ दिन लाग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
सुरुङ भरिएपछि १० दिन जति पानी त्यसै छाडेर त्यसपछि भने सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने छ । पानी प्रशोधन केन्द्रको परीक्षण गर्दै प्रशोधित पानी वितरण प्रणालीमा पठाइने जनाएको छ । चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौंमा वितरण हुने छ ।
चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ ।
३ वर्षअघि नै बनेको पानी प्रशोधन केन्द्रको परीक्षण हुन नसक्दा खरिद सम्झौता सक्रिय छ । ठेकदारलाई आयोजनाबाट विदा गर्न पनि प्रशोधन केन्द्रको परीक्षण गरिहाल्नुपर्ने अवस्था छ । अहिलेसम्म सुख्खा मैसममा काठमाडौं उपत्यकामा दैनिक ६ करोड लिटर मात्र पानी वितरण हुँदै आएको छ । अब १७ करोड लिटर थपिएर वितरण क्षमता ४ गुणा बढ्नेछ ।
नयाँ पाइपलाइनको परीक्षण नसकिन्जेल पुरानै प्रणालीबाट मेलम्चीको पानी वितरण हुनेछ । सुख्खायामभरि मेलम्चीको पानी केयूकेएलको प्रणालीमा पठाइनेछ । वर्षायाम लागेपछि भने एकपटक सुरुङ खाली गरेर त्यसको सुपरीवेक्षण गर्ने जनाएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)का अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ । पहिलो चरणमा काठमाडौंमा १ हजार १ सय किलोमिटर पाइप बिछ्याइएको छ । त्यसमध्ये अब ८–१० किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ ।
अहिलेसम्म २ सय किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको जनाएको छ ।
९ वटा नयाँ पानी ट्यांकी र पाइपलाइनको परीक्षण गर्दै मिटर जोड्ने काम अब तीव्र पारिने जनाएको छ । महिनामा ५० किलोमिटर पाइपलाइनको परीक्षण सकाउने योजना छ । त्यसका लागि मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानीको १० प्रतिशत हिस्सा परीक्षणमा खर्च गर्छौं ।
