
पूर्णपुष्टि,माघ २८ । अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउने कप्तान लियोनल मेसी फिफा उत्कृष्ट वर्ष पुरूष खेलाडीको अन्तिम मनोनयमा परेका छन् । फिफाले गएराति मेसीसहित उत्कृष्ट तीनमा पर्न सफल खेलाडीको सूची सार्वजनिक गरेको हो ।
मेसीले ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप ट्रफी जिताउन महत्वपुर्ण योगदान दिएको छ । विश्वकप विजेता मेसीले उपाधिका लागि फ्रान्सका केलियन एम्बाप्पे र करिम बेन्जिमासँग प्रतिस्पर्धा गर्नेछन् । फिफा सदस्य राष्ट्रका प्रशिक्षक, कप्तान, पत्रकार र समर्थकले १४ खेलाडीलाई दिएको मतका आधारमा अन्तिम तीनको नाम तय भएको हो । कतार विश्वकपमा फाइनल पुगेको फ्रान्सका लागि ह्याट्रिक गरेका एम्बाप्पे र सन् २०२२ को बालेन डिओर विजेता बेन्जिमा पहिलो पटक उत्कृष्ट तीनमा परेका हुन् ।
यता महिलातर्फ स्पेनकी एलिक्सिया प्युटेला, इङल्यान्डकी बेथ मिड र अमेरिकाकी एलेक्स मोर्गन प्रतिस्पर्धामा छन् । फिफाका सदस्य राष्ट्र, प्रशिक्षक, पत्रकार मतका आधारमा विजेता छनोट गरिनेछ ।
सन् २०१६ बाट सुरु भएको अवार्डमा क्रिष्टियानो रोनाल्डो र रोर्बेटो लेवान्डोस्कीले २(२ पटक तथा मेसी र लुका मोड्रिचले १(१ पटक उपाधि जितेका छन्।
