
पूर्णपुष्टि, फागुन २६
मोटरसाईकल चोरीमा संग्लग्न रहेका १ जना भारतिय नागरीक सहित ६ जनालाई जिल्ला प्रहरी झापाले पक्राउ गरी सार्वजानिक गरेको छ । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका–७ का २१ बर्षीय प्रकाश सहनी, २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराव, २२ बर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका–१ का ३० बर्षीय बिर्ख लिम्बु र भारत किसनगंजका १९ बर्षीय महम्मद समिम रहेका छन् ।
झापा जिल्लाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीको घटना भएको भनी सवारी धनीहरुको लिखित निबेदन परेसंगै चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निग्रानी तथा पहिचान गर्ने क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाईकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा निजलाई प्रहरीले पक्राउ गरिएको थियो । उनै सहनीले दिएको बयानका आधारमा चोरीमा संग्लग्न अन्य ५ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेसंगै उनीहरुले बिभिन्न समयमा बिभिन्न स्थानबाट चोरी गरेका ७ थान मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

