Wednesday, June 17News That Matters

मोरङमा आफ्नै घरभित्र महिला मृत फेला

पूर्णपुष्टि, असार १ गते ।
मोरङमा बुधवार आफ्नै घरभित्र ४५ वर्षीया महिला मृत अवस्थामा पेला परेकी छिन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६ शिवालय टोलकी काली दर्जीको आफ्नै घरभित्रको ओछ्यानमा मृत फेला परेकी हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार छोप्टो परेको अवस्थामा महिलाको शव भेटिएपछि घटनाको अनुसन्धान थालिएको छ । महिलाको मृत्यु के कारणले भएको भने खुल्न नसकेको प्रहरीले जनाएको छ । मंगलवार राति खाना खाएर घरमा सुतेकी महिलालाई भोलिपल्ट बिहान आफ्नै पति किशोर दर्जीले मृत फेला पारेका हुन् । घरमा मृतक महिला र पति किशोर मात्रै बस्दै आएको प्रहरीले जनाएको छ ।
पति किशोर भने मंगलवार छोरीको घर गएको र आफ्नो घरमा भने राति महिला एक्लै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकोे छ । डिएसपी श्रेष्ठका अनुसार छोरीको घरबाट बुधबार बिहान आफ्नो घर फर्किएका किशोरले पत्नीलाई ओछ्यानमै मृत्यु भएको अवस्थामा देखेपछि घटनाका बारेमा प्रहरीलाई जानकारी दिएका हुन् ।
दर्जी दम्पतीका ३ जना छोरी थिए । छोरीहरुको बिहे भइसकेपछि पति–पत्नी मात्रै घरमा बस्दै आएको खुलेको छ । प्रहरीका अनुसार महिलाको मृत्युको कारण पत्ता लगाउन विभिन्न कोणबाट अनुसन्धान थालिएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको हो । शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान लगिएको डिएसपी श्रेष्ठले बताए ।