Monday, June 22News That Matters

मोरङमा एकै दिन कोरोनाबाट थप ६ जनाको ज्यान गयो

पूर्णपुष्टि,वैशाख २७

मोरङका विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमण मध्ये ६ जनाको आज एकै ज्यान गएको छ ।

कोरोना संक्रमण पुष्टि भएको बिरामी मध्ये ६ जनाको उपचारको क्रममा आज बिहान ज्यान गएको हो । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा तीन, विराटनगरको नोबेल शिक्षणमा दुई र न्युरो अस्पतालमा एक संक्रमितले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमध्ये दुई वृद्धासहित तीन महिला र तीन पुरुष रहेका थिए ।

विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया वृद्धा महिलाको न्युरो अस्पतालमा ज्यान गएको छ । बिहान ५ ः ५० बजेतिर उपचारकै क्रममा उनको ज्यान गएको अस्पतालले जनाएको छ । कोरोना रिपोर्ट पोजिटिभ आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या भएपछि उनलाई उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो ।

त्यसैगरी विराटमा उपचाररत विराटनगर–११ का ४६ वर्षीय पुरुषको ज्यान गएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आइसोलेसनमा संक्रमित पुरुषको बिहान ७ ः५५ बजेतिर ज्यान गएको उपचारमा संलग्न चिकित्सकले जनाएको छ ।

त्यस्तै विराटनगर–१३ की ७८ वर्षीया वृद्धा महिलाको पनि विराटमै ज्यान गएको हो । कोरोना पुष्टि भएर स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ५ः१५ बजेतिर ज्यान गएको अस्पतालले जनाएको छ ।

सुनसरीको दुहवी नगरपालिका–११ का ३८ वर्षीय पुरुषको पनि विराटमै उपचारका क्रममा ज्यान गएको छ । कोभिड अस्पतालअनुसार बिहान ५ः३० बजेतिर उनको ज्यान गएको हो । कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो ।

साथै नोबेलमा दुई संक्रमितको ज्यान गएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ की ३५ वर्षीया महिलाको बिहान ५ बजेतिर नोबेलमा ज्यान गएको हो । अस्पतालकाअनुसार पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएर कोरोना पुष्टि भएकी महिलालाई वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको थियो ।

त्यस्तै सिरहाको भवानीपुर–४ का ५० वर्षीय पुरुषको पनि नोबेलमै ज्यान गएको छ । उपचारका क्रममा बिहान ५ ः१५ बजेतिर उनको ज्यान गएको अस्पतालले जनाएको छ । अस्पतालकाअनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो ।