Thursday, June 25News That Matters

मोरङमा युवाहरुबीच ग्याङ फाइट, खुकुरी प्रहारबाट एकको मृत्यु

पूर्णपुष्टि, कार्तिक २९
मोरङमा युवाहरुबीच ग्याङ फाइट हुँदा एक जनाको ज्यान गएको छ । मोरङको बूढीगंगा गाउँपालिका–६ कोयलपुरमा आइतबर राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको ज्यान गएको हो । २६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।
दाहाल माथि छ÷सात जनाको समुहले खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ । टाउकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले बताउनुभयो ।
बढीगंगा–६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राती घर गएका थिए । बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका बुढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ÷सात जनाको समूहसँग दाहालको विवाद भएको थियो ।
शव पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ । प्रहरीले बढीगंगा–७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा–४ दव्रेबास घर भइ इटहरी–१३ बस्दै आएका २४ वर्षीय कमल थापालाई मोरङ प्रहरी कार्यालयमा ल्याएर घटनाबारेमा अनुसन्धान सुरु गरिएको छ ।