Saturday, May 23News That Matters

यात्रा गर्ने वितिकै कोरोना परीक्षण गर्नु नपर्ने

पूर्णपुष्टि, असोज ११

यात्रा गर्नेबित्तिकै आशङ्कामा कोरोना परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ ।
सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको पाँच दिनअघि परीक्षण गराउँदा आफूमा सङ्क्रमण छ छैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो ।

यात्रा गर्ने व्यक्तिले दुई हप्तासम्म क्वरेण्टीनमा बस्नुपर्ने र यस अवधिमा कोरोना भाइरससम्बन्धी कुनै लक्षण देखिएमा स्थानीय सरकारलाई जानकारी गराउन मन्त्रालयले आग्रह गरेको छ ।
दुई हप्तासम्म कोरोना सङ्क्रमणको कुनै लक्षण नदेखिए पीसीआर परीक्षण गर्नु आवश्यक नहुने जनाईएको छ । अत्यन्त जरुरी भए मात्र यात्रा गर्न र यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरिएको छ ।

लकडाउन खुलेलगत्तै विभिन्न पेशा व्यवसायका सिलसिलामा काठमाण्डौ भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पीसीआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र पीसीआर परीक्षणका लागि सर्वसाधारणले दुःख पाएको भन्दै मन्त्रालयले काठमाण्डौ भित्रिने बित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ ।

आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको दुई हप्तासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन मन्त्रालयले आग्रह गरेको छ ।