
पूर्णपुष्टि, बैशाख ६ गते ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई यूरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले आफूहरूको बलियो समर्थन रहेको बताएका छन् ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेसससँग बिहीबार भएको टेलिफोन कुराकानीका क्रममा बोर्रेलले डब्लूएचओलाई समर्थन रहेको जानकारी दिएको थियो ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाईंमा डब्लूएचओलाई यो बेला साथ दिनुपर्ने आवश्यकतामा यूरोपेली संघका अन्य उच्च अधिकारीहरूले पनि जोड दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको मङ्गलबार डब्लूएचओलाई दिँदै आएको सहयोगमा आधा कटौति गर्ने घोषणा गरेको थियो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि डब्लूएचओले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाउँदै सहयोग रकम कटौतिको घोषणा गरेकोे थियो ।
त्यसको जवाफमा डब्लुएचओका महानिर्देशक गेब्रेससले महामारीका बेला राजनीति नगर्न आग्रहसहितको प्रतिक्रिया दिएको थियो । रकम कटौति गर्ने उहाँको घोषणाप्रति अन्य विभिन्न देशका प्रतिनिधिहरूले पनि चर्को असन्तुष्टि जनाएका छन् ।
