Friday, May 22News That Matters

रुसमा तयार भयो कोरोना विरुद्धको खोप

पूर्णपुष्टि, साउन ३२

कोरोना विरुद्धको पहिलो खोप तयार भएको रुसले जनाएको छ । यो खोप यसै महिनाको अन्त्यसम्म बजारमा जाने रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हिजोमात्रै खोप उत्पादन सुरु भइसकेको बताएको रुसले त्यसको केही समयमै खोपको पहिलो खेप तयार भएको जनाएको हो ।

खोपलाई भर्खरै तेस्रो चरणको परीक्षणका लागि स्वीकृति दिइएको छ । यस चरणमा हजारौं मानिसमा परीक्षण गरिने भएकाले खोप उत्पादनको लागि यो चरणलाई महत्वपूर्ण मान्ने गरिएको छ । रुसले खोपलाई ’स्पुतनिक ५’ नाम दिइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित रहेको दाबी गर्नुभएको छ ।  उहाँले खोप आफ्नी छोरीलाई दिइएको र खोप लगाएपछि सञ्चो भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो खोप  विकास गर्ने गामेलिया इन्स्टिच्युटले आउँदो डिसेम्बर–जनवरीसम्म प्रति महिना ५० लाख डोज खोप उत्पादन गर्न सक्ने दाबी गरेको छ ।

रुसले गरेको खोपको तीव्र विकासप्रति अन्य देशले भने आशंका व्यक्त गरेका छन् ।