
पूर्णपुष्टि, असार १८
नेपालमा पहिलो पटक रोटा भाइरस विरुद्धको खोप आजदेखि प्रयोगमा आउने भएको छ ।
ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाभीको सहयोगमा नेपाल ल्याइएको खोप आजदेखि प्रयोगमा आउने परिवार कल्याण महाशाखाको खोप शाखाले जनाएको छ ।
पहिलो चरणमा ३ लाख २४ हजार भाइल खोप नेपाल भित्रिएको छ । बिस्तारै आवश्यकता अनुसार थप खोप ल्याउने जनाईएको छ ।
केन्द्रबाट प्रदेशमा खोप पठाइसकिएकाले प्रदेशले मातहतका जिल्लामा आवश्यकता अनुसार पठाउने जनाईएको छ । जिल्लाले आफ्नो नियमित खोप तालिका अनुसार एक वर्ष मुनिका बालबालिकालाई खोप दिनेछन् ।
एक वर्ष मुनिका ६ लाख २० हजार बालबालिकालाई खोप दिइने जनाईएको छ । रोटा भाइरसका कारण हुने झाडापखालाका विरुद्ध यो खोप दिन लागिएको हो । यो खोप बच्चा जन्मेको ६ हप्तामा र १० हप्तामा गरी २ पटक दिने गरिन्छ ।
यो खोप जेठ महिनादेखि सुरु गर्ने सरकारको योजना भए पनि कोरोना महामारीका कारण ढिलाई भएको हो ।
