
पूर्णपुष्टि/भुटार, असार ११
उदयपुरको रौतामाई गाउँपालिकाले पछिल्लो पाँच वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, महिला सशक्तीकरण तथा सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै विकासको बलियो आधार निर्माण गरेको जनाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ देखि २०८२/०८३ सम्मको संक्षिप्त प्रगति विवरणले सीमित स्रोतसाधन र दुर्गम भौगोलिक अवस्थाबीच पनि विकास निर्माण र सेवा प्रवाहमा महत्वपूर्ण उपलब्धि हासिल भएको देखाएको छ।
गाउँपालिका अध्यक्ष विरेन्द्रकुमार आलेमगरका अनुसार स्थानीय सरकारको अभ्याससँगै नागरिकलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिकाले आधारभूत सेवाको पहुँच विस्तार गर्दै स्थानीय आवश्यकताअनुसार विकासका योजनाहरू कार्यान्वयन गरेको जनाएको छ।
रौतामाई गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै विद्यालयहरूको शैक्षिक तथा भौतिक सुधारमा विशेष ध्यान दिएको छ। बृहत् शैक्षिक सम्मेलनमार्फत ३७ बुँदे घोषणापत्र जारी गरी शैक्षिक गुणस्तर सुधार अभियान सञ्चालन गरिएको थियो।
विद्यालयहरूमा स्मार्ट बोर्ड, ल्यापटप, प्रिन्टर, प्रोजेक्टर तथा इन्टरनेट सेवा विस्तार गरिनुका साथै नयाँ भवन, कक्षाकोठा, शौचालय र खेलमैदान निर्माण तथा मर्मतका कार्य सम्पन्न भएका छन्। उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई सम्मान र पुरस्कार प्रदान गर्ने कार्यक्रमले शिक्षामा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको गाउँपालिकाको भनाइ छ।
पाँच वर्षको अवधिमा गाउँपालिकाले सडक, पुल तथा सार्वजनिक भवन निर्माणलाई तीव्रता दिएको छ। प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ भने सुखाबोला र खारिबोलामा पक्की पुल निर्माण सम्पन्न भइसकेको छ।
गाउँपालिकाभित्र ४।४ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको छ भने थप ४।५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य अघि बढिरहेको छ। यसबाहेक ३।२ किलोमिटर आरसीसी सडक र ७।७ किलोमिटर ग्राभेल सडक निर्माण गरिएको छ। ग्रामीण सडक विस्तार, ट्र्याक खोल्ने कार्य तथा विपद् व्यवस्थापनका लागि हेलिप्याड निर्माणले स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ पुगेको छ।
कृषिप्रधान क्षेत्र रौतामाईमा उत्पादन वृद्धि र व्यवसायीकरणलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गरिएको छ। “एक वडा–एक पकेट क्षेत्र” अवधारणाअन्तर्गत सुन्तला, बेसार, फलफूल तथा तरकारी खेतीलाई प्रवर्द्धन गरिएको छ।
किसानलाई कृषि औजार, प्रविधि, प्लास्टिक मल्चिङ सामग्री वितरण, अनुदान तथा तालिम उपलब्ध गराउँदै व्यावसायिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने प्रयास गरिएको गाउँपालिकाले जनाएको छ। नियमित कृषि तालिममार्फत किसानको सीप र उत्पादन क्षमता वृद्धि भएको दाबी गरिएको छ।
स्वास्थ्य सेवा पहुँच विस्तारका लागि वडा नं. १, ३, ६ र ७ मा आरसीसी बर्थिङ सेन्टर निर्माण गरिएको छ। स्वास्थ्य संस्थाहरूमा आवश्यक उपकरण उपलब्ध गराउनुका साथै अतिरिक्त बजेट विनियोजन गरी सेवा सुदृढीकरण गरिएको छ।
दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य पूर्वाधार विस्तार र सेवाको गुणस्तर सुधारमा विशेष ध्यान दिइएको गाउँपालिकाले जनाएको छ।
महिला सशक्तीकरणका लागि सिलाइकटाइ, बुनाइ, गुडिया तथा कुशन निर्माणजस्ता सीपमूलक तालिम सञ्चालन गरिएको छ। अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण, सहायक सामग्री उपलब्ध गराउने तथा जीविकोपार्जनमा सहयोग पुग्ने कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
ज्येष्ठ नागरिक, दलित, आदिवासी जनजाति तथा विपन्न समुदायलाई लक्षित सामाजिक संरक्षण र सशक्तीकरणका कार्यक्रमले समावेशी विकासलाई बल पुर्याएको गाउँपालिकाको दाबी छ।
पशुपालनलाई आयआर्जनको प्रमुख आधारका रूपमा विकास गर्न पशु स्वास्थ्य सेवा, खोप अभियान, गोठ सुधार, पशु उपचार तथा किसान तालिम कार्यक्रम सञ्चालन गरिएको छ। लम्पी स्किन रोग नियन्त्रण तथा एफएमडी खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको जनाइएको छ।
त्यसैगरी रौता पोखरी, मुर्कुचुमलगायत प्राकृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकासमा लगानी गर्दै पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको छ।
गाउँपालिकाले पाँच वर्षको अवधिमा हासिल गरेका उपलब्धिले रौतामाईलाई विकास र समृद्धिको दिशामा अघि बढाएको उल्लेख गर्दै आगामी दिनमा पनि नागरिकमैत्री सेवा, दिगो विकास र आर्थिक सशक्तीकरणलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ।
