
रौतामाई/चैत्र, २९
कोरोना भाइरसको संक्रमण त्रासको कारण सरकारले लगाएको लकडाउनमा प्रभावित भएको परिवार तथा यसको नियन्त्रणको लागि अहिले बिभिन्न पालिकाहरुले राहत कोष खडा गरि परिचालन भएको छ ।
बिषेशगरी दैनिक ज्याला मजदुर र विपन्न परिवारहरु अहिले भोकमरीमा रहेको भन्दै रौतामाई गाउँपालिकाले विपद व्यवस्थापन कोष बाट ५ लाख र जनप्रतिनिधिहरुको ७ दिनको सुविधा र कर्मचारीहरुको १ दिनको तलव समेत गरी १० लाखको राहत कोष खडा गरेको थियो ।
पालिकाको कम स्रोतको कारण पालिकाले त्यहाँका संघ संस्था, सामुदायीक बन, मान्य जान्य व्यक्तिहरुलाई समेत पहल गरी कोषमा आर्थिक संकलनको अभियान चलायो । संकलन बाट ६ लाख ५ हजार ९ सय ५ सहयोग रकम कोषमा संकलन भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताउनुभयो । साथै पालिकाले विपन्न परिवार र दैनिक ज्याला मजदुरीहरुको पहिचान गरी ८ ओटै वडाहरुमा सोमार मात्रै पहिलो चरणको राहत बाँडी सकोको पनि खड्काले बताउनुभयो ।
उहाँले सहयोगीहरु सबै दाताहरुलाई पालिका र व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । राहत प्याकेजमा २० केजी चामल, २ केजी दाल, २ केजी नुन, १ लिटर तेल र ४ ओटा हात धुने साबुन गरी ४ सय ७३ घर परिवारलाई ६ लाख ६२ हजार २ सयको प्याकेज खरिदमा लागेको थियो ।
अध्यक्ष खड्काले करिब पहिलो चरणको राहत प्याकेज सहयोगी दाताहरु बाटै सम्भव भएको र अन्य अवस्थालाई हेरेर बाँकी अन्य इच्छुक सहयोगीहरुको सहयोग र राहतको व्यवस्थामा पनि पालिका निरन्तर जोड दिने बताउनुभयो । पालिकाले अब पनि पालिकाले तत्काल मिटिङ गरी ४० लाख बराबरको बजेट तयार गर्ने पनि बताउनुभयो ।
