
पूर्णपुष्टि, असार ७
सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन शुरु गरेरपछि अहिलेसम्म नेपालगञ्जको जमुनाह नाका हुँदै साढे ५७ हजार नेपालीहरू स्वदेश फर्किएका छन् ।
गत चैत ११ गतेदेखि सरकारले लकडालउन गरेको थियो । लकडाउनपछि अहिलेसम्म नेपालगञ्जस्थित जमुनाहा नाकाबाट ५७ हजार ४ सय ५९ जना नेपालीहरू भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
उक्त समयमा नेपालबाट भारत फर्किने भारतीयहरूको संख्या २५ हजार ८ सय ७६ जना रहेको नेपाल–भारत सिमानामा रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
स्वदेश फर्किनेहरूमा भारतका विभिन्न सहरहरूमा रोजगारीका लागि गएका कर्णाली प्रदेश र ५ न. प्रदेशका अधिकांश बासिन्दा रहेको प्रहरीले जनाएको छ ।
सबैभन्दा धेरै जेठ महिनामा ४३ हजार ८ सय ३८ जना नेपालीहरू यो नाका भएर स्वदेश भित्रिएका छन् । त्यो भन्दा अघि चैत महिनाको १९ दिनमा भित्रिनेको संख्या ११ हजार ९ सय ७ जना रहेको थियो । असार १ देखि ६ गतेसम्म १ हजार ७ सय १४ जना नेपालीहरू भित्रिएका छन् ।
अहिले दैनिक ३ सयको हाराहारीमा मात्र नेपालीहरू फर्किरहेको प्रहरीले जनाएको छ । भारतमा उद्योग कलकारखाना र होटलहरू बन्द भएपछि नेपालीहरूलाई फिर्ता पठाउन शुरु गरिएकोले जेठ महिनामा एकैपटक धेरै जना आएपछि सिमानामा फर्किनेहरूको चाप अत्याधिक बढेको थियो ।
वैशाख र जेठमा नेपाल फर्किनेहरूको चाप अत्यधिक बढेपछि सिमानामा उनीहरूको व्यवस्थापन गर्न समस्या भएको थियो । सोही कारणले शुरुमा उनीहरूलाई सम्बन्धित जिल्लामा पठाउन पनि समस्या भएको थियो । भारतबाट फर्किनेहरूमा नै सबैभन्दा बढी कोरोना देखिन थालेपछि प्रशासनले क्रमशः सिमानालाई व्यवस्थित गर्दै नेपाल फर्किनेहरूलाई सिमानाबाटै सोझै सम्बन्धित पालिकाहरूमा पठाउने व्यवस्था मिलाएको छ ।
जमुनाहमा होल्डिङ सेन्टर नै स्थापना गरेर त्यहाँबाटै भारतबाट फर्किनेहरूलाई सम्बन्धित जिल्लाहरूमा पठाउने गरिएको छ । आइतबारबाट कोहलपुरमा पनि होल्डिङ सेन्टर स्थापना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । उहाँका अनुसार सो होल्डिङ सेन्टरबाट पूर्व बुटवल, पश्चिम धनगढी र उत्तर कर्णालीतर्फ जानेहरूलाई व्यवस्थित तरिकाले पठाइनेछ ।
असारको शुरुदेखि भारतबाट फर्किने नेपालीहरू आउने क्रम घट्दैगएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको जोखिमसँगै रोजगारीसमेत गुमेपछि भारतबाट यो नाका भएर फर्किने अधिकांश नेपाली आइसकेकोले अब आउने क्रम घट्दैगएको छ ।
