
बैशाख १०
सेतो मच्छिन्द्रनाथको रथ यात्रा आज रथलाई लगन टोलमा रहेको सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा तीन पटक परिक्रमा गराइँदै छ ।
हिजो रथलाई हनुमानढोकाबाट तानेर लगन पुर्याइएको हो । यसरी लगनमा रथ पुर्याएपछि मच्छिन्द्रनाथको आमाको मन्दिरमा तीन पटक परिक्रमा गरिने चलन अनुसार आज दिउँसो परिक्रमा गराइने जनाएको छ ।
भोलि मूर्तिलाई खटमा राखेर केलटोलमा रहेको मन्दिरमा फर्काएपछि यो वर्षको सेतो मच्छिन्द्रनाथको रथजात्रा सकिनेछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन तीनधारा पाठशालाबाट रथयात्रा सुरु गरिन्छ भने रथयात्राको पहिलो दिन असन र दोश्रो दिन हनुमानढोकामा राखिने परम्परा छ ।
यसवर्ष गत वैशाख ७ गतेबाट रथयात्रा सुरु भएको हो । सेतो मच्छिन्द्रनाथको विधिपूर्वक पूजाआजा गरे देशमा सहकाल आउँछ भन्ने मान्यता रहिआएको छ ।
