Friday, June 26News That Matters

लाइसेन्सको नयाँ आवेदन आजबाट अनिश्चितकालका लागि बन्द

पूर्णपुष्टि, चैत १ ।
सवारी अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को आवेदन आजबाट अनिश्चतकालसम्मको लागि बन्द गरिएको छ । सरकारी अकर्मण्यताले सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका नयाँ निवेदन नलिने जानकारी गराएको हो ।
विभागका प्रवक्ता लोकनाथ भुसालले हालसम्मका निवेदकको परिक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएकाले यस्तो कदम चालिएको बताए ।
अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षा गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको बसभन्दा बाहिर पुगेको छ ।

यसअघि कोरोनाको कारण लामो समय लाइसेन्सको आवेदन रोक्का गरिएकोले नयाँ चालकहरु समस्यामा परेका थिए । ६ महिना बन्द गरेर कात्तिक ९ देखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि ३ वर्षभन्दा पछिको मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा थिए ।
लाइसेन्सको परीक्षा शुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिएका छैनन् । नियमित शैलीमा परीक्षा लिइरहेका छन् ।
अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समय (विहान ६ बजेपछि) मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो । निश्चित समय मात्रै दिँदा अनलाइन सिस्टममा एकैपटक धेरै व्यक्ति आउँदा सिस्टम डाउन भएर धेरै सेवाग्राहीले फारम भर्न सकेका थिएनन् । कार्यालयले चालक अनुमतिपत्र वितरण र नवीकरण जारी राखे पनि कार्यालयमा भीड हुने भन्दै नयाँ अनुमतिपत्र सेवा अवरुद्ध गरेको थियो ।
त्यसैकारण सरकारले ‘भिजिट मिति’ दिने गरी जति पनि फारम भर्न सकिने व्यवस्था गर्यो । त्यसपछि भने आवेदनको चाङ लाग्न थालेको हो ।