
होसियार बनौं है बुवाआमा
फस्दैछन् कि छोराछोरी कुलतमा
लागु पदार्थ नशा हो
प्रयोग गर्नु दशा हो
उदयपुर, साउन २० गते
अभिभावकहरुलाई होसियार बनाउदै लागू औषधविरुद्धको एउटा अभियान सोमबारदेखि उदयपुरमा सुरु भएको छ । त्रियुगा नगरपालिका ६ लालपत्तामा एक कार्यक्रमको आयोजना गरी “होसियार बनौं है बुवाआमा–फस्दैछन् कि छोराछोरी कुलतमा, लागु पदार्थ नशा हो–प्रयोग गर्नु दशा हो” भन्ने नारा लेखिएका होर्डिङबोर्ड राख्दै अभियानको सुरुवात गरिएको हो ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अभियानको रुपमा सुरु गरिएको लागु औषध तथा ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रमको प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्का र प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले उद्घाटन गरेका थिए । प्रजिअ खड्का र एसपी मगरले लागु औषण दुब्र्यसनको विरुद्ध र ट्राफिक नियम उलंघनको विरुद्ध प्रहरी, प्रशासन हर समय लागी पर्ने र त्यसमा समुदायले साथ, सहयोग दिएको खण्डमा यसको रोकथाममा सफलता मिल्ने बताए । उनीहरुले समुदायसंग साझेदारी र लागु औषधको विरुद्ध स्वयम् युवायुवतीहरु सक्रिय होस् भन्ने हेतुले थालिएको कार्यक्रमले सार्थकता पाउने आशा व्यक्त गरे । वडाध्यक्ष उद्धबकुमार थापा, त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विक लगायतले पनि साथ र समर्थनको प्रतिबद्धता जनाएका थिए ।
अभियान अन्तर्गत एक स्थानमा १० दिनसम्म स्वयम्सेवक टोलीसमेत खट्ने छन् । स्वयम्सेवकहरुलाई अभियान र लागु औषधविरुद्ध खेल्नुपर्ने भूमिका र त्यसमा फसेकालाई दिइने परामर्श, कसैलाई फस्न नदिन गरिने परामर्शको बारेमा जिल्ला प्रहरी कार्यालयमा प्रशिक्षण दिइएको बताइएको छ । पहिलो १० दिन लालपत्तामा खट्ने र जिल्लाको भिन्न स्थानहरु बेल्टार, बसाहा, सुन्दरपुर, साउने लगायतका नौं स्थानमा खटिने जनाइएको छ ।
यसबाट अभिभावकहरु स्वयम् पनि सचेत भई आफ्ना छोराछोरीलाई निगरानी गर्ने र दुब्र्यसनमा नलाग्न खबरदारी गर्ने, दुब्र्यनजन्य गतिविधी रोक्न पहल गर्ने, गलत क्रियाकलापमा प्रहरीलाई खबर गर्ने र ट्राफिक नियम सम्बन्धी जनचेतना फैलने आशा गरिएको अभियानकर्मी सुरेश गुप्ताले बताए ।
