Friday, May 15News That Matters

लिम्चुङबुङले छान्यो सल्लाहकार

लिम्चुङबुङ, कात्तिक २० गते ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले सल्लाहकार र प्रेस संयोजक नियुक्त गरेको छ । गाउँकार्यपालिकाको कात्तिक ६ गतेको बैठकले सर्बसम्मत निर्णय गरे अनुुसार सल्लाहकार र प्रेस संयोजक नियुक्त गरेको हो ।

गाउँपालिकाले ५ वटै वडाबाट १÷१ सल्लाहकार र १ प्रेस संयोजक नियुक्त गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए । उनका अनुसार वडा नं. १ बाट शिवराम राई, २ कृष्ण निरौला, ३ झनक बिक, ४ बसन्त राई र ५ बाट चित्रकुमार राई सल्लाहकार रहेका छन् । त्यस्तै गाईघाटबाट प्रकाशित मुुलुकी दैनिकका कार्यकारी संपादक दिनेश राईलाई प्रेस संयोजक नियुक्त गरिएको अधिकृत राईले बताए ।

सल्लाहकार र प्रेस संयोजक सबैलाई गत १५ गते आयोजित गाउँपालिकाको विशेष सभामा नियुक्तिपत्र प्रदान दिदै कार्यभार सम्हाल्न बाटो खोलेको छ । सल्लाहकार तथा संयोजकलाई नियुक्तिपत्र दिदै गाउँपालिका अध्यक्ष मेजरकुमार राईले सबैलाई समृद्ध लिमचुङबुङ बनाउन साथ सहयोगको अपेक्षा गरिएको बताए । भौगोलिक बिकटता र सुख्खाग्रस्त हिजोको लिम्चुङबुङ गाउसँपालिकालाई विकास निर्माणको माध्यामबाट सुगम, विकसित, सुविधायुक्त र समृद्ध बनाउने अभियानमा साथ दिन प्रत्येक वडाबाट प्रतिनिधित्व गर्नेगरी सल्लाहकार चयन गरिएको उनले बताए ।

नवनियुक्त सल्लाहकारहरुबाट गाउँपालिकाको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै उनले गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफु हरेकक्षेत्राट लागी पर्दै आएको अभियानमा सल्लाहकार समूहबाट आवश्यक साथ र सल्लाह सुझाव पाउने विश्वास लिए । ‘हिजोको लिमचुङबुङ विकट, सुख्खाग्रस्त र दुर्गम थियो, स्थानीय चुनावपछि आफुहरुको सक्रियतामा यसले विकास निर्माणमा गति लिदै गईरहेको छ’ अध्यक्ष राईले भने ‘अहिले एभरेष्ट भ्युटावर, सुनकोसी–दोबाटे र यारीखोला–दोबाटे लिप्mटीङ खानेपानीजस्ता ठूला योजनासँगै समग्र गाउँपालिकाको विकासको गुरुयोजना बनाएर अघि बढिसकेको अवस्था छ । यो समृद्धिको यात्रामा साथ दिन यो सल्लाहकार टिमले महत्वपूर्ण सुझाव सल्लाह र साथ दिने कुरामा म ढुक्क छु ।’

अध्यक्ष राईले चुनावपछिकै प्रयासले सदरमुकामदेखि गाउँपालिका जोड्ने सडक सुचारु भईसकेको बताउँदै सबै वडाहरुमा सडक, विद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच पु¥याउन आफु र सबै गाउँपालिका प्रतिनिधि लागी परेको बताए । उनले अन्तरवडा सडक र विद्युत लाईन बिस्तारको कामसमेत अघि बढिरहेको जानकारी दिए । ‘गाउँपालिकाभित्रका सबै पर्यटकीय संभाव्य क्षेत्रको पहिचान गर्दै संरक्षण गर्ने लक्ष्य हामीले लिएका छौं’ उनले भने ‘सबै वडाका बस्तीबस्तीमा माटोको उर्बरा क्षमता पहिचान गर्दै बैज्ञानिक कृषि प्रणाली अपनाउन पनि योजना अघि बढिसकेको छ ।’

लिमचुङबुङको मुख्य आयस्रोत कृषि नै भएकाले यहाँका किसानलाई फलपूmल तथा नगदे बाली खेतीतर्फ उन्मुख गराउन कृषि प्रोत्साहन कार्यक्रम ल्याउने योजना अघि सारिएको अध्यक्ष राईले बताए । लिम्चुङबुङ उदयपुरका अन्य स्थानीयतहहरुभन्दा भिन्न र फरक भौगोलिक तथा सामाजिक संरचना भएको गाउँपालिका भएकाले यसलाई छुट्टै पहिचानका साथ अघि बढाउने काम भईरहेको पनि राईले वताए ।

कार्यक्रममा उपाध्यक्ष रमिला राई, प्रमुख प्रशासकीय अधिकृत भक्त राई, लेखा अधिकृत ताराकिरण राईलगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले सल्लाहकार र प्रेस संयोजकलाई कार्यकाल सफलताको शुभकामना दिदै बधाई मन्तव्य दिएका थिए । वडाध्यक्षहरु क्रमशः भिम किराती, भविन्द्र राई, डिगबहादुर राउत, एन्डप्रसाद राई र केशरवहादुर खड्काले पनि नवनियुक्त सल्लाहकार र संयोजकलाई कार्यसफलताको कामना साथ विकास र समृद्धिको सहयात्रामा लाग्न अनुरोध गरेका थिए ।