Sunday, June 14News That Matters

लुटपाटपछि हत्या गर्ने ३ जना पक्राउ

पूर्णपुष्टि, असोज २७

जग्गा किन्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । भक्तपुरका  एक व्यक्तिलाई जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुलाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । कामी शेर्पा मुख्य योजनाकार भएको महाशाखाले जनाएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८, सुडालका ६१ वर्षीय चन्द्रकुमार योञ्जनको गत हप्ता हत्या भएको थियो । गत बुधबार दिउँसो करिब ४ बजे घरमा आएका अज्ञात व्यक्तिहरुको अनुरोधपछि योञ्जन बिक्रीमा रहेको जग्गा देखाइदिन भन्दै डेढ किलोमिटरको दूरीमा रहेको क्षेत्रमा गएको थियो ।
जग्गा किन्ने बहाना बनाएर आएकाहरुले योञ्जनलाई कुटपिट गरी सिक्री लुटेर भागेका थिए । योञ्जनको उपचारको क्रममा गत बिहीबार मृत्यु भएको थियो ।