
पूर्णपुष्टि, बैशाख ३०
यार्चा टिप्न गएका २ जनाको लेक लागेर ज्यान गएको छ । डोल्पाका पाटनमा यार्चा टिप्न गएका रामेछापको उमाकुण्ड गाउँपालिका–७ का २७ वर्षीय कुमार खत्रीको लेक लागेर मृत्यु भएको हो ।
खत्री लेक लागेर सिकिस्त बिरामी परेपछि उपचारका लागि बोकेर काइगाउँ स्वास्थ्यचौकी लगिएको थियो । उनको स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका नायब उपरीक्षक राजु पाण्डेले बताए ।
उनी आफ्ना बुबा मानबहादुर खत्रीसहित पाँच महिनाअघि काठको काम गर्न जगदुल्ला आइपुगेका थिए । कोरोना संक्रमणका कारण यार्चा टिप्न बन्द गरिएको पाटनमा उनी अवैध रूपमा गएको प्रहरीले जनाएको छ ।
यस अघि नै अर्का एक जनाको पनि यार्सा टिप्ने क्रममै लेक लागेर मृत्यु भईसकेको छ । यसअघि जुम्लाको गुठीचौर गाउँपालिका–३ का १७ वर्षीय सुमन रावलको लेक लागेर मृत्यु भएको थियो ।
वैशाख १७ गतेको सर्वदलीय बैठकले जेठ १० गतेदेखि यार्चा संकलन खुला गर्ने निर्णय गरेको थियो ।
