
पूर्णपुष्टि, असार ६
वनको कर्मचारी र पत्रकार हौं भनी रकम ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ रतुवामाई नगरपालिका–१० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने दुईजनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटबिकास का ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्प प्रसाद सिग्देल रहेका छन् ।
गत असार ४ गते बेलुका ६ बजे रतुवामाई–१० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको साथबाट नगद रु.३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड १ थान, उठाएको रकम अभिलेख भएको डायरी १ थान, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र १ थान, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र १ थान, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र १ थान बरामद भएको छ । बरामद भएको रकम अभिलेख डायरीमा मोरङको विभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ ।
उनिहरुले हामी वनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुने छ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । पक्राउ परेका द्धय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
