
पूर्णपुष्टि, बैशाख १४ गते ।
लकडाउनको कारणले समस्यामा परेको उदयपुरका दुई सय परिवारलाई नेपाल बार एसोसिएसनका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शम्भु थापाले राहत वितरण गर्नु भएकाे छ । लकडाउनका कारण काठमाडौंमा रहेका उदयपुरबासीलाई थापाले सहयोग गर्नु भएकाे हाे ।
लकडाउनले घर जान नपाएका न्यून आय भएका परिवारका विद्यार्थी र दैनिक ज्यालादारी गरि खाने मजदूरलाई सहयोग गरेको संयोजन सहजिकरण नारद बास्तोलाले बताउनुभयाे ।
काठमाडौंको डल्लु, स्वयंभू, बलाजु, बनस्थली, सितापाईला, कलंकी, सातदोबाटो, ग्वार्को, कपन, आरुबारीमा डेरा गरी बस्ने जिल्लाबासीलाई खाद्यन्न हस्तान्तरण गरेको बास्तोलाले बताउनुभयाे । अवश्था हेरी चामल, आलु, प्याज र हरियो तरकारी, दाल, तेलको प्याकेज वितरण गरेको उहाँले बताउनुभयाे ।
त्यस्तै नविन थापा र जुजु काजीको समन्वयमा जिल्ला कृषि सहकारी संघ भक्तपुरले उदयपुरबासीलाई हरियो तरकारी उपलब्ध गराएको जनाइएको छ । जिल्लाबाट उपचारको क्रममा आएका र बिखर्ची भएका बिरामी, एकल महिला, सुत्केरी दैनिक न्यून ज्यालादारीमा काम गर्ने मजदूरलाई समेटेर तत्काल राहातको आवश्यकता हेरी सूची तयार गरेर राहात घरघरै पुर्याइने उहाँले बताउनुभयाे ।

उदयपुरे जनतालाई दुई छाक टार्न सकस परेपछि काठमाण्डौँ बसोबास गर्दै आएका विद्यार्थी नेता शैलेस लामा, सरोज थापा, नारदमणी बास्तोला, रिता थापा, खड्गबहादुर मगरले संयोजन तथा सहजिकरण गर्दै आएका छन् ।
‘जिल्लाबासीहरुको सामुहिक सहयोगमा एउटा कोष खडा गर्ने र त्यही कोषबाट समस्यामा परेकालाई सहयोग गर्ने भन्ने कुराकानी हुँदै थियो, वरिष्ठ अधिवक्ता थापाले टेलिफोनमार्फत भन्नुभयाे ‘यो प्रक्रियागर्दा अलि लामो होला जस्तो लाग्यो, तत्काल सहयोग गर्नुपर्ने देखेर गरेको हुँ ।’ कोरोना भाइरसको महामारीले संसार नै चपेटामा परेको यो बेला मानवीयताको नाताले पार्टी भन्दा माथि उठेर सबैले आआफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्ने थापाको धारणा छ ।
