
पूर्णपुष्टि, पुष ९ । क्रोएसिया र साइप्रस पठाइदिने भन्दै १० लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उदयपुर रौतामाई–३ का यादवबहादुर बुर्जामगर र बारा पचरौता–८ का सञ्जय साह बानियाँलाई पक्राउ गरेको हो ।
५३ वर्षीय मगरले क्रोएसिया पठाइदिने भन्दै दुई जनाबाट ५ लाख ७५ हजार रुपैयाँ र ३५ वर्षीय बानियाँले साइप्रस पठाइदिने भन्दै एक जनाबाट ४ लाख ६० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीपछि प्रहरीले मगरलाई काठमाडौंको गोकर्णेश्वर–८ बाट र बानियाँलाई टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
