Thursday, May 28News That Matters

विनासरी भुकम्प गएको ५ वर्ष पुरा, अझै पूनर्निर्माण पुरा भएन

पूर्णपुष्टि, बैशाख १२ गते ।

२०७२ सालको विनासकारी भूकम्प गएको आज पाँच वर्ष पुरा भएको छ । तर अझै निजी आवास पुनर्निर्माण पुरा भएको छैन । पुर्ननिर्माणमा ८८ प्रतिशत प्रगति भएपनि कोरोना भाइरसका कारण लकडाउन लागू गरिएपछि पुनर्निर्माण प्रभावित भएको हो ।

बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ म्याग्नेच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पले देशभरको आड हजार सात सय ९० मानिसको मृत्यु भएको थियो भने २० हजार भन्दा बढी घाइते भएका थिए ।

भूकम्पकाले गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर गरी १४ लिल्लामा सबैभन्दा बढी क्षति भएको थियो ।

भूकम्पले नेपालको ३२ जिल्लामा मानविय क्षतिसँगै घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन, सडक, खानेपानी लगायतका पूर्वाधारमा ठूलो क्षति भएको थियो ।

भूकम्पले आठ लाख भन्दा बढी निजी घर, सात हजार पाँच सय ५३ विद्यालय, उक हजार एक सय ९७ स्वास्थ्य संस्था, नौ सय २० सम्पदा, चार सय १५ सरकारी भवन, दुई सय १६ वटा सुरक्षा निकायका संरचना, सात सय ६२ किलोमिटर सडक र एक हजार भन्दा बढीको खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

अहिले सम्म चार लाख ९४ हजार ४४ निजी आवास निर्माण र एक लाख ९० हजार एक सय ४५ पुननिर्माणको चरणमा रहेको गरी ८८ प्रतिशत प्रगति भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । करिब ७० हजार निजी आवासको प्रबलीकरणको काम भने बाँकी नै रहेको छ ।

अहिले सम्म पाँच हजार पाँच सय नौ विद्यालयको पुननिर्माण सम्पन्न भएको छ भने एक हजार चार सय ९२ विद्यालय पुननिर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ । त्यस्तै एक हजार एक सय ९७ क्षतिग्रस्त स्वास्थ्यसँस्था मध्ये अहिलेसम्म छ सय ६९ वटाको पुननिर्माण सम्पन्न भएको छ भने एक सय ४५ पुननिर्माणको चरणमा छन् ।

भुकम्पले क्षती गरेको नौ सय २० वटा सम्पदा मध्ये चार सय दुई वटाको मात्र पुननिर्माण सम्पन्न भएको छ भने एक सय ४१ पुननिर्माणको चरणमा रहेको प्राधकिरणले जनाएको छ । तर महत्वपूर्ण धरोहरहरु धरहरा, रानीपोखरी, काष्ठमाण्डप, सिंहदरबार, नुवाकोट दरबार लगायतका सम्पदाहरुको पुननिर्माणको काम भने अझै बाँकी नै छ ।

चार सय १५ सरकारी भवन मध्ये तीन सय ४९ वटाको पुननिर्माण भएको छ भने ४९ वटा पुननिर्माणको चरणमा छन् । त्यस्तै एक सय ९४ सुरक्षा निकायका संरचनाको पुननिर्माण सम्पन्न भइसकेको छ भने २२ वटा पुननिर्माणको चरणमा छन् ।

सात सय ६२ किलोमिटर सडक पुननिर्माण गर्नुपर्नेमा अहिले सम्म चार सय ४३ किलोमिटर सडकको पुननिर्माण सम्पन्न भइसकेको छ । त्यस्तै एक हजार खानेपानी योजनाको पुननिर्माण सम्पन्न भएको छ भने एक सय वटा पुननिर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ ।