
पूर्णपुष्टि, फागुन १४
नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) पक्राउ परेको छ ।
म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाईसाँझ नै बेनी ल्याइएको प्रहरीले जनाएको छ ।
राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसअघि विभिन्न घटनामा संलग्न भई फरारको सूचीमा पुन रहेको प्रहरीले जनाएको छ ।
पुन एनसेलको टावर, डोजरलगायत निर्माण उपकरणमा आगजनी, चन्दा असुलीलगायतका गतिविधिमा संलग्न भएको प्रहरीको आरोप छ ।
पुन म्याग्दीको मालिका गाउँपालिका–३ का बासिन्दा हुन् । उनी पछिल्लो समय चन्द समूहको मुस्ताङ जिल्ला इञ्चार्ज रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सरकारले चन्द समूहलाई दुई वर्षदेखि प्रतिबन्ध लगाएको छ ।
