Friday, May 1News That Matters

विराटनगर महानगरपालिकाले पदाधिकारी सुविधा र भत्तामा उडायो २ करोड ७० लाख

पूर्णपुष्टि, साउन २९ । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा पदाधिकारी सुविधा र बैठक भत्तामा करोडौं खर्च गरेको पाइएको छ। महानगरपालिकाको खर्च विवरण अनुसार पदाधिकारी सुविधा र बैठक भत्तामा मात्रै २ करोड ७० लाखभन्दा बढी रकम खर्च भएको छ।

यस्तै, कार्यक्रम शीर्षकमा १८ करोड १४ लाख र विविध खर्चमा १ करोड ६४ लाख रुपैयाँ खर्च गरिएको छ। तालिम, गोष्ठी र कार्यक्रममा पनि ठूलो रकम खर्च भएको देखिन्छ। यी शीर्षकहरूमा १८ करोडभन्दा बढी रकम खर्च भएको तथ्याङ्कले देखाएको छ। महालेखा परीक्षकको कार्यालयले विविध खर्च शीर्षकमा धेरै रकम राखेर खर्च गर्नु कानुन विपरीत भएको भन्दै चिन्ता व्यक्त गरेको छ। तर महानगरपालिकाले यस शीर्षकमा अघिल्लो वर्षको तुलनामा २५ लाख रुपैयाँ बढी खर्च गरेको पाइएको छ।

महानगरपालिकाले चालू खर्चतर्फ ८३.८९ प्रतिशत र पुँजीगततर्फ ६४.९५ प्रतिशत बजेट खर्च गरेको जनाएको छ। कुल मिलाएर ७४.६१ प्रतिशत बजेट खर्च भएको दाबी गरिएको छ। आम्दानीतर्फ महानगरपालिकाले आन्तरिक स्रोतबाट अनुमानित रकमको ७७.४१ प्रतिशत मात्र प्राप्त गरेको छ। कुल मिलाएर अनुमानित आम्दानीको ८०.४७ प्रतिशत प्राप्त भएको जनाइएको छ।

यसैबीच, आगामी आर्थिक वर्षको बजेट असार १० मै पारित भए पनि योजनाहरू समावेश भएको रातो किताब अझै सार्वजनिक नभएको पाइएको छ। यसले गर्दा नगर स्तरीय योजनाबारे सर्वसाधारण अनभिज्ञ रहेका छन्। महानगरका प्रमुख नागेश कोइरालाले भने रातो किताब छिट्टै सार्वजनिक गरिने बताएका छन्। उनका अनुसार वडा स्तरीय योजना र सङ्घ तथा प्रदेशका योजनाहरू कार्यान्वयनमा कुनै बाधा नपरेको छ।