Saturday, June 13News That Matters

विराटनगरमा मुखबाट फिँज निकालेर एक थुनुवाको मृत्यु

पूर्णपुष्टि, भदौ २०
विराटनगरमा आज दिउँसो एक जना थुनुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका विराटनगर महानगरपालिका–११ का ३७ वर्षीय भीम कामतको मृत्यु भएको हो ।
कामतलाई गत शुक्रबार दिउँसो विराटनगर–११ जनपथ मार्गबाट ३ किलो ४ सय ८० ग्राम गाँजासहित पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । जनपथ मार्गमै नास्ता पसल सञ्चालन गरेर बसेका उनलाई घरको कोठा र गाईको गोठमा भुसले छोपेर बोरामा प्याक गर्दै राखेको अवस्थामा गाँजासहित पक्राउ गरिएको हो । उनीविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थपको तयारी गरेको थियो ।
कामत पक्राउ परेको दिन शुक्रबार समय सकिएको र शनिबार सार्वजनिक बिदा भएकाले उनीविरुद्ध आइतबार अदालतबाट म्याद थप गर्ने प्रहरीको तयारी थियो । प्रहरीका अनुसार म्याद थप गर्न अदालत लैजानलाई हिरासतबाट बाहिर निकाल्ने क्रममा रिंगाटा चल्यो भन्दै उनी एक्कासि ढलेका थिए ।
मुखबाट फिँज निस्किएको अवस्थामा उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा दिउँसो २ः१५ बजेतिर कामतको मृत्यु भएको एसपी जीसीले बताए ।
घटनाको अनुसन्धान सुरु गर्दै शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको र पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मृत्युको कारण यकिन हुने जीसीले जानकारी दिए ।