
पूर्णपुष्टि, माघ २६
एक जना विवाहीत महिलाको शव गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको हो ।
महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक विनोद घिमिरेले बताउनुभयो ।
प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएको प्रहरीको अनुसन्धानमा खुलेको छ । शवको पोष्टमार्टमपछि घटना बारेमा थप विवरण आउने प्रहरीले जनाएको छ ।

