
पूर्णपुष्टिट,माघ २९ । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।
गत जेठमा तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले राजीनामा दिएपछि केन्द्रीय समितिबाट अध्यक्षको भूमिका पाएकी बाँस्कोटाले पार्टीको पहिलो महाधिवेशन गराएर पुनः नेतृत्वमा आएकी छन् । विवेकशील साझाको अभियानमा स्थापना कालदेखि नै जोडिएकी उनी कानुनमा स्नात्तकोत्तर हुन् । ३८ वर्षीया बाँस्कोटा अधिवक्ता समेत हुन् ।
यस्तै, उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिव रञ्जु दर्शना सर्वसम्मत भएकी छन् । सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरियो । विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ ।
