Sunday, September 27News That Matters

विशेष अदालतबाट त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरी सहित ४ जनाले पाए सफाई

पूर्णपुष्टि, बैशाख ११ । त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चौधरीसहित चारजनालाई लागेको राजश्व चुहावट मुद्दामा विशेष अदालत काठमाण्डौले सफाइ दिएको छ । सात महिना अघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमेयर चौधरीसहित ४ जना विरुद्ध राजश्व चुहावट गरी भ्रष्टचार गरेको आरोप सहित मुद्दा दर्ता गरेको थियो ।

सोमबार विशेष अदालतका न्यायधिशद्वय मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले पूर्वमेयर सहित ४ जनालाई सफाई दिइएको हो । सफाई पाउनेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, नगरपालिकाका तत्कालीन राजश्‍व शाखा प्रमुख गुरूप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौंडाका प्रोपाइटर तथा ठेकेदार राजेश्वर बछार रहेका छन् ।

अख्तियारको अभियोग पत्रमा तत्कालीन नगरप्रमुख चैधरीले नगरपालिकाभित्रका बरूवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्‍य पदार्थ माटोवाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेको, नगरपालिकाको नगरस्तरीय राजश्व परामर्श समितिको निर्णयलाई बेवास्ता गरी मिलेमतोमा अनुमानित राजश्व रकम नउठाइ राजस्व चुहावटबाट ६२ लाख ९१ हजार २०४ रुपैयाँ र ठेक्का नै नभएको भरौटे र बलौटे माटोको राजश्व १८ लाख ४४ हजार १७७ चुहावट गरी जम्‍मा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ राजश्व चुहावट गरेको आरोप लगाएको थियो ।

अख्तियारले पूर्वमेयर चौधरीसहित तत्कालिन प्रमुख प्रशासकीय अधिकृत कार्की, राजश्व शाखा प्रमुख ढकालसँग भ्रष्टाचार निवारण ऐनको दफा ७ बमोजिम राजश्व रकमको दोब्बर जरिवाना १ करोड ६२ लाख ७० हजार ७६४ को दरले जरिवानमा माग दाबी सहित मुद्धा दायर गरेको थियो । यस्तै ठेकेदार राजेश बछारलाई १८ लाख ४४ हजार १७७ को दोब्बर राजश्व ३६ लाख ८८ हजार ३५५ रुपैयाँ असुल उपर गर्न अख्तियारले माग दाबी गरेको थियो । विशेष अदालतबाट सफाई पाएको पूर्वमेयर चौधरीले बताए । आफुमाथि मिथ्य आरोप रहेकोले सफाइ पाएको उनको भनाई छ ।