Friday, May 1News That Matters

विश्वव्यापी युवा बेरोजगारी दर १५ वर्षयताकै न्यून

पूर्णपुष्टि, साउन २९ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को ताजा प्रतिवेदनले विश्वभर युवा बेरोजगारी दर १५ वर्षयताकै सबैभन्दा न्यून स्तरमा झरेको देखाएको छ। सन् २०२३ मा विश्वस्तरमा युवा बेरोजगारी दर १३ प्रतिशतमा झरेको छ, जुन कोभिड-१९ महामारी पूर्वको १३.८ प्रतिशतभन्दा कम हो।

तर यो सुधार असमान रहेको छ। पूर्वी एसिया, अरब देशहरू, दक्षिणपूर्व एसिया र प्रशान्त क्षेत्रमा युवा बेरोजगारी दर बढिरहेको छ। विशेषगरी महिलाहरू आर्थिक सुधारको लाभबाट वञ्चित रहेका छन्।

प्रतिवेदनले हरेक पाँच युवामध्ये एक जना रोजगार, शिक्षा वा प्रशिक्षणबाट बञ्चित रहेको देखाएको छ। महिलाहरूको लागि शिक्षा र रोजगारीमा पहुँच अझै चुनौतीपूर्ण रहेको छ। युवा श्रमिकहरूमा सामाजिक सुरक्षाको अभाव छ र धेरैजसो अस्थायी रोजगारीमा छन्।

कम आय भएका देशहरूमा नियमित र सुरक्षित रोजगारीको अवसर न्यून रहेको छ। धेरै युवाहरूमा रोजगार गुमाउने डर रहेको पाइएको छ। यद्यपि, आईएलओले वर्तमान युवा पुस्ता अहिलेसम्मकै सबैभन्दा शिक्षित रहेको जनाएको छ।

संगठनले सभ्य कामकाजलाई युवाहरूको सुनिश्चित भविष्यको टिकट र सामाजिक न्यायलाई समावेशी र शान्तिपूर्ण समाजको पासपोर्टको रूपमा व्याख्या गरेको छ। आईएलओले युवाहरूका लागि अवसर सिर्जना गर्ने उपयुक्त समय अहिले रहेको जनाएको छ।