Friday, May 1News That Matters

विषाक्त माछाले लियो तीन बालबालिकाको ज्यान

पूर्णपुष्टि, साउन २९ ।  बारामा विषाक्त माछा खाएका कारण एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका-७ झवानी टोलका नरेश रामको दुई छोरी सहित एक छोराको विषाक्त माछा खाँदा मृत्यु भएको हो ।

आइतबार भारतबाट आएका व्यापारीबाट खरिद गरिएको माछा खाएपछि परिवारका सदस्यहरूमा स्वास्थ्य समस्या देखा परेको थियो। ९ वर्षीया लालिमा राम, ७ वर्षीया पुष्पा राम र ५ वर्षीय कृष्णन्दन रामलाई पेट दुख्ने, बान्ता हुने र झाडापखालाको समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो।

स्थानीय स्वास्थ्य केन्द्रबाट प्रादेशिक अस्पताल कलैया हुँदै वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार गराइए पनि तीनै जना बालबालिकाको मृत्यु भएको छ। लालिमा रामको बाटोमै मृत्यु भएको थियो भने अन्य दुई जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र मृतकहरूको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पठाइएको छ। चिकित्सकहरूले प्रारम्भिक रूपमा फुड प्वाइजनिङको कारण मृत्यु भएको अनुमान गरेका छन्।