Monday, May 11News That Matters

विस्फोटमा परी दुई बालबालिकाको मृत्यु

पूर्णपुष्टि, भदौ १५ । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडा गाउँमा भएको एक विस्फोटमा परी दुई बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ वर्षीया प्रिन्सा सावा र ११ वर्षीय दिप्सन सावा रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार गत बिहिबार अपराह्न ३ बजेतिर स्थानीय ज्ञानबहादुर राईको घर आँगनमा खेलिरहेका चार बालबालिकामाथि अचानक विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएका चारै जनालाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल पाँचथर लगिएको थियो।

थप उपचारका लागि प्रिन्सा सावालाई जिल्ला अस्पताल इलाम र दिप्सन सावालाई बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य दुई घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। घटनास्थल नजिकै शंकास्पद वस्तु फेला परेपछि नेपाल प्रहरी र नेपाली सेनाको टोलीले त्यसलाई निष्क्रिय पारेको छ। प्रहरीका अनुसार उक्त वस्तु IED बम पुष्टि भएको छ। यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट थप अनुसन्धान भइरहेको छ।