
पूर्णपुष्टि, माघ ८
त्रियुगा नगरपालिका ६ बोजेका ४ महिलाहरुलाई व्यवसाय प्रविधिको सामाग्री हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाको सहयोगमा नगर प्रमुख बलदेव चौधरीले सामाग्री हस्तान्तरण गर्नुभएको हो । मदिराले बिगबिग भएको टोलमा व्यवसाय परिवर्तन गरी अन्य व्यवसायी बाट आत्मानिर्भरमा जोड्न घरेलु तथा साना उद्योग माहासंघको बिषेश पहलमा महिलाहरुलाई प्रविधि सामाग्री हस्तान्तरण गरिएको घरेलु तथा साना उद्योग माहासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताउनुभयो ।
लकडाउनको समयमा कोरोना सचेतना अभियान अन्तरगत सो ठाउँमा मदिरा नियन्त्रण तथा शान्तमय समाज निर्माणका लागि हेल्प डेक्स समेत निर्माण गरिएका थिए ।
लकडाउनमा बिभिन्न ठाउँबाट फर्केका युवाहरु बिहान दिउँसै मदिरामा लाग्ने र बिभिन्न नकरात्मक गतिविधि साथै अपराधिक क्रियाकलापहरु समेत हुन थालेपछि हेल्प डेक्सको बिषेश निगरानीमा होहल्ला, गाली गलोज गर्ने केहि व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिई प्रहरीमा जिम्मा लगाइएको थियो ।
शान्तमय समाज र सचेत नागरिक निर्माणका लागि मदिरा व्यवसाय गर्ने सोही गाउँका महिलाहरुलाई व्यवसाय परिवर्तन गराउन अनुरोध गर्दै आएका थिए । महासंघले यसका लागि जेजस्तो पनि सहयोग गर्ने प्रतिबद्धता जनाएपछि मदिरा व्यवसाय गर्ने ४ महिलाहरुले दालमोठ भुजिया व्यवसायी गर्ने योजना बनाएका थिए । त्यसपश्चात माहासंघको पहलमा नगर प्रमुख चौधरीलाई यसबारे जानकारी गराई प्रविधि सामाग्री मेयर चौधरीले प्रदान गरेको थापाले बताउनुभयो ।
दालमोठ भुजिया व्यवसायका लागि नगरले बिभिन्न आवश्यक सामाग्री वितरण गरेको छ ।
नगरले सोही ठाउँका हात्ति पिडित ९ परिवारलाई पनि राहत स्वरुप आर्थिक सहयोग गरेका छन् ।
