
पूर्णपुष्टि, कात्तिक १७
फिलिपिन्समा शक्तिशाली समुद्री आँधीले १० जनाको मृत्यु भएको छ ।
आँधीमा परेका ३ लाख ४७ हजार भन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । घर तथा भवनहरु भत्किएका छन् । यसवर्षकै सबैभन्दा ठूलो समुद्री आँधी मानिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
प्रतिघण्टा २ सय २५ किलोमिटरको गतिमा हावा र भारी वर्षा भएको थियो । अहिले बिस्तारै आँधी कमजोर बनेको भए पनि अझै ठूलो आँधी र वर्षा हुनसक्ने भएकाले चेतावनी मौसमविद्हरुले दिएका छन् । आँधी आउनु भन्दा पहिला फिलिपिन्सले १० लाख मानिसहरुलाई उद्धार गर्नु आवश्यक रहेको जनाइएको छ ।
कोरोना भाइरसको सङक्रमण जोखिम पनि रहेकाले उद्धार कार्यमा कठिनाइ भइरहेको उद्धारकर्ताहरुले बताएको जनाईएको छ ।
सन् २०१३ मा आएको हैयान समुद्री आँधीपछिको गोनी फिलिपिन्सको लागि सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । हैयान आँधीको कारण फिलिपिन्समा ६ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।
