
पूर्णपुष्टि, भदौ ६ । जल तथा मौसम विज्ञान विभागले आगामी शनिबारसम्म देशभर वर्षा जारी रहने पूर्वानुमान गरेको छ। विभागका अनुसार लगातार झरी नपरे पनि पश्चिमको तुलनामा पूर्वी क्षेत्रमा बढी वर्षा हुने अनुमान छ। हाल देशभर आंशिकदेखि साधारण बदली रहेको छ र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
गत २४ घण्टामा बर्दिया, कैलाली र सर्लाहीका केही स्थानमा भारी वर्षा मापन गरिएको छ। कैलालीमा वर्षाका कारण बस्ती डुबानमा परेका छन्।
आगामी तीन दिनको पूर्वानुमानमा भदौ ६ गते सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भदौ ७ गते अधिकांश प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। भदौ ८ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
विभागले बाढी, पहिरो तथा भू-क्षयको जोखिमप्रति सचेत रहन र दैनिक जीवनमा पर्न सक्ने असरबारे सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सुझाव दिएको छ।
