Tuesday, June 23News That Matters

शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको गोली लागी एकको ज्यान गयो

पूर्णपुष्टि, वैशाख १२

मोरङमा शिकार खेल्ने क्रममा आफ्नै साथीले चलाएको गोली लागी एकजनाको ज्यान गएको छ । केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त बहादुर राईको शिकार खेल्दा आफ्नै साथीले चलाएको भरुवा बन्दुकको गोली लागी ज्यान गएको हो ।

गत वैशाख ८ गते साँझ उनी सोही स्थानमा रहेको बाँसघारी खोप सरकारी राष्ट्रिय वन जंगलमा ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बुसंग शिकार खेल्न गएकोमा वैशाख ९ गते दिउँसो गजेन्द्र र रुबिनले हस्त बहादुरको शिकार खेल्ने क्रममा आफैले चलाएको गोली लागी ज्यान गएको भनि ईलाका प्रहरी कार्यालय केराबारीले खबर पाएको थियो । प्रहरीमा खबर पाएलगतै घटनास्थलमा प्रहरी टोली खटि गई घटनास्थलबाट १ थान भरुवा बन्दुक फेला पारेको थियो ।

घटना सम्बन्धमा थप बुझ्न ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटि गई गजेन्द्र र रुबिनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा बैशाख ८ गते रातको ९ बजे गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागि हस्त बहादुर राईको घटनास्थलमा ज्यान गएको खुल्न आएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

पक्राउ परेका उपर ज्यान सम्बन्धी कसूर र हातहतियार खरखजाना कसुरमा म्यादथप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।