
पूर्णपुष्टि,माघ ३०
शिक्षकको कुटाइपछि झापाको एक विद्यालयमा अध्ययनरत बालकको मृत्यु भएको आशंका छ । शिक्षकको कुट्पिटबाट बालकको मृत्यु भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । नगरपालिका—६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत १० वर्षीय कृष्णप्रसाद राजवंशीको बिहीबार उपचारका क्रममा मृत्यु भएको हो । उनी कक्षा ४ मा अध्ययनरत विद्यार्थी थिए । उनको मृत्यु भएपछि विद्यालय विवादमा तानिएको छ ।
राजवंशीको मृत्युपछि विद्यालयको कार्यालय सहायक (खरिदार) पदमा कार्यरत रविन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरले कक्षा ४ मा पठनपाठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते राजवंशीलाई कुटपिट गरेका थिए ।
शिक्षकको कुटाइबाट विद्यार्थीको कान सुन्निएपछि उपचारका लागि तत्काल स्थानीय कामेश मेडिकल लगिएको थियो । मेडिकलमा सामान्य उपचारपछि उनलाई घर पठाइएको थियो । घर पुगेपछि पनि बालकले आफूलाई शिक्षकले कुटेको कुरा अभिभावकसँग बताएनन् । तर, घरमा कान झनै सुन्निन थालेपछि आफन्तले बारुलाले टोकेको होला भनेर बालकका साथीसँग सोधपुछ गरेका थिए । त्यसपछि राजवंशीका साथीले उनलाई शिक्षकले कान मोलेर यस्तो भएको बताएका थिए ।
बालकको स्वास्थ्य अवस्था झनै बिग्रिँदै गएपछि थप उपचारका लागि तत्काल बिर्ता सिटी हस्पिटल लगिएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि बी एन्ड सी पु¥याइएको जानकारी विद्यालयका एक शिक्षकले दिए । त्यहाँ पनि उपचार सम्भव नभएपछि बिहीबार विराटनगरस्थित नोबेल मेडिकल कलेज पठाइएको थियो । तर, अस्पताल पु¥याएर उपचार सुरु गरेलगत्तै विद्यार्थीको मृत्यु भएको हो ।
बी एन्ड सी अस्पताल बिर्तामोडले नोबेलमा रिफर गरेपछि विद्यालयले बालकलाई उपचारका लागि ३० हजार रुपैयाँ दिएको थियो । त्यसपछि मात्र बालकको परिवारले उनलाई २८ गते नोबेल अस्पताल लगेका थिए । अस्पतालमा भर्ना भएका बालकलाईसाधारण बेडमा अक्सिजन दिएरराखिएको थियो। त्यसको आधा घण्टापछि नै उनको मृत्यु भएको स्थानीय छिमेकीले बताए ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद कोइरालाका अनुसार शिक्षकले सामान्य कान मोले पनि बालकको पुरानै बिरामी निमोनियाका कारण मृत्यु भएको दाबी गरे । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले शिक्षकको कुटपिटबाट विद्यार्थीको मृत्यु भएको भन्ने खबर आएपछि शिक्षकलाई पनि सोधपुछका लागि अहिले इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ ।
