Friday, June 12News That Matters

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभरि खुल्ने

पूर्णपुष्टि, फागुन १७ 

शिवरात्रिदेखि पशुपतिनाथ मन्दिर दिनभर दर्शनार्थीका लागि खुला गरिने भएको छ ।

अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खुल्ने गरेको मन्दिर आगामी २७ गते शिवरात्रिपछि दिनभर नै खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

अघिल्लो वर्ष चैत ११ गते अघिसम्म पशुपति मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुन्थ्यो । चैत ११ गते लकडाउनपछि पशुपतिनाथ मन्दिर झण्डै ९ महिना बन्द भएको थियो ।

पुस १ गतेदेखि मन्दिर खुला गरिएको हो । तर अहिले बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मूल मन्दिरको पश्चिम ढोका मात्र खुला गरी दुई वटा लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

शिवरात्रीपछि भने पहिलेजस्तै पश्चिम र उत्तर ढोका खुला हुने र बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म मन्दिर खुला हुने कोषले जनाएको छ । पशुपतिमा दर्शनको लागि मास्क र स्यानिटाइजर अनिवार्य गरिएको छ ।