Friday, August 7News That Matters

श्रम स्वीकृति खुल्यो

पूर्णपुष्टि, असार १८

आजदेखि सरकारले पुनः श्रम स्विकृति खुला गरेको छ । नेपालीको श्रम गन्तव्य देशमा कोरोना महामारी सुरु भएपछि गत फागुन अन्तिमदेखि बन्द भएको श्रम स्वीकृति खुल्ला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

भिसाको  र करारको म्याद भएकालाई ताहाचल कार्यालयबाट आजैदेखि पुनः श्रम स्वीकृति दिन थालिएको जनाईएको छ । पुनः  श्रम स्वीकृति खुले पनि नयाँको बारेमा भने कुनै जानकारी दिएको छैन । पुन: श्रम स्वीकृति सरकारले वैदेशिक रोजगारी खुला गरिएका सबै देशको लागि दिनेछ ।

तर अहिले कार्यालयमा पुनः श्रम स्वीकृतिका लागि आउनेले कोरोना रोकथामको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । त्यही अनुसार कार्यालयले तयारी पनि गरेको जनाईएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने निर्णय गरेसँगै श्रम स्वीकृतिको बाटो खुलेको हो । बैठकले श्रम मन्त्रालयको सिफारिसमा नयाँ रोजगारी खुल्ला गर्ने निर्णयसमेत गरेको छ ।

पुनः श्रम स्वीकृति पाए पनि अन्तर्राष्ट्रिय उडान भने साउन ७ गतेसम्म बन्द छ । कतिपय देशले अझै यात्रु प्रवेशमा रोक लगाएको छ ।