Wednesday, June 10News That Matters

श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै घुस लिने २ जना पक्राउ

पूर्णपुष्टि, कात्तिक १९ 

काठमाण्डौँको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसरबाट श्रम स्वीकृति छिटो गरिदिने भन्दै घुस लिने दुई जना पक्राउ परेका छन् ।
श्रम स्वीकृति लिन कार्यालय पुगेका सेवाग्राहीसँग काम छिटो गरिदिने भन्दै आठ हजार घुस लिदै गरेको अवस्थामा कार्यालयमा करारमा कार्यरत सवारी चालक समिर भन्ने धनबहादुर तामाङ र लेखापढी व्यवसायीको काम गर्ने रामानन्द चौधरी पक्राउ परेका हुन् ।
दुवै जनाले काम छिटो गरिदिने भन्दै घुस मागेको सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको जनाएको छ । रामानन्द चौधरीले सेवाग्राहीबाट आठ हजार रुपैयाँ घुस लिएर सवारी चालक धनबहादुरलाई दिएको अवस्थामा रकमसहित दुवैलाई नियन्त्रणमा लिएको आयोगले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।