
पूर्णपुष्टि, वैशाख १० ।
संक्रमित क्षेत्रमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिहरुको स्वाव नमुना रिपोर्ट सबैको नेगेटिभ आएको छ । हालको संक्रमित क्षेत्र देखिएको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा खटिएका उनीहरुको स्वाव रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवदीले बताउनुभयो ।
२८ जना संक्रमित भेटिएको भुल्केको नुरी मस्जिद रहेको बस्तिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र जनप्रतिनिहरु अनुगमन, राहत वितरण र स्वाप संकलन जस्ता काममा खटिएका थिए । काममा खटिदा संक्रमित हुनसक्ने कुरालाइ ध्यानमा राख्दै त्रियुगा नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख, अन्य स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुको स्वाव नमुना संकलन गरिएको थियो । मेयर बलदेव चौधरी, प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी भिम भट्टराई, जिल्ला प्रहरी प्रमूख एसपी बीरबहादुर बुढामगर, सशस्त्र प्रहरी बल नेपाल, ५ नं. गण उदयपुरका गणपती गाहरधन राई, जिल्ला अनुशासन्धानका एसपी नागेन्द्र दाहाल, जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी लगायतको स्वाव रिपोर्ट नेगेटिभ आएको हो । साथै त्यहाँ खटिएका अन्य सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको स्वाव परिक्षण नेगेटिभ देखिएको हो ।
६ गते प्रदेश सरकारले स्वाव संकलनमा स्वास्थ्यकर्मी खटाएको बेला ६९ मध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मी नौ जना थिए । पछिल्लो पटक नेपाली सेनाको स्वास्थ्यकर्मी टोली खटिएको बेला २५२ जना मध्ये स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि गरी ३० जनाको स्वाप नमुना संकलन भएको थियो । ती सबैको स्वाव रिपोर्ट नेगेटिभ आएको हो ।
नागरिकसंग प्रत्यक्ष सम्बन्ध राखेर खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधिको स्वाव रिपोर्ट नेगेटिभ आउदा नागरिकलाई पनि सकारात्मक सन्देश प्रवाह भएको जनस्वस्थ्य प्रमुख सुवेदीले बताउनुभयो । आफु सुरक्षित भएर अरुलाई सुरक्षित गर्नुपर्ने भूमिका रहेकाले उनीहरुकोसमेत स्वाव परिक्षण गरिएको, जसमा सुखद रिपोर्ट आएको उहाँले बताउनुभयो ।
बरिष्ठ पत्रकार एवम् पत्रकार सेनानी कौशल चेम्जोङले संक्रमित क्षेत्रमा खटिएका पत्रकारहरुकोसमेत स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वाव नमुना परिक्षण जरुरी रहेको बताउनुभयो । पत्रकारहरु पनि उत्तिकै जिम्मेवारीपूर्ण ढंगले संक्रमित क्षेत्रमा सूचना संकलन कार्यमा खटिने भएकाले उनीहरुलाई समेत राज्यले ध्यान पुर्याउनुपर्ने उहाँले बताउनुभयो ।
