
पूर्णपुष्टि, भदाै १८ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका ७ बतासे गाउँका लागि लिफ्टीङ खानेपानी योजना बरदान सावित भएको छ । कुनै पनि पानी मुहानले नभेट्ने र पालिकाको ८ वडाहरु मध्येकै सबैभन्दा बढि खानेपानीको समस्या रहेको बतासे गाउँमा विद्युत प्रयोग गरी लिफ्टीङ प्रणालीबाट बतासे खानेपानी योजना सफल भएको हो । योजना सफल भएपछि गाउँका लागि बरदान सावित भएको गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । “यो ठाउँमा पानीको ठूलो समस्या थियो, अब हल भयो । यो खुसीको कुरा हो ।” उहाँले भन्नुभयो ।
उदयपुरको निर्वाचन क्षेत्र नं. २ को संघीय सांसद सुरेशकुमार राई निर्वाचन क्षेत्र विकास कोषबाट निर्मित सम्पन्न खानेपानी योजना गतवर्षको फागुनदेखि सुरु भई चार महिनाभित्रमै सम्पन्न भएको हो । निर्वाचन क्षेत्र विकास कोषबाट ४३ लाख २५ हजार ७ सय १५ रुपैया र जनश्रमदान ३ लाख, ५२ हजार ३ सय ८१ रुपैया गरी कुल ४६ लाख, ७८ हजार ९६ रुपैया लागतमा योजना सम्पन्न भएको हो । उपभोक्ताहरुको सक्रिय सहभागिताका कारण योजना समयमै सम्पन्न भयो र गुणस्तरीय पनि रहेको उपभोक्ता समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर बुर्जा मगरले बताउनुभयो ।
इन्जिनियर रमेश बस्नेतका अनुसार गाउँकै एक पानी मुहानबाट करिब १ सय १२ मिटर माथि लिप्mटीङ गरी रिजर्भ टेङ्कीमा जम्मा गरिएको छ । रिजर्भ टेङ्कीमा जम्मा भएको पानी गाउँभरी विस्तार भएको छ । छरिएको पहाडी गाउँले बस्ती भएपनि घरघरमा ४६ वटा धारा बनेका छन् । विद्युतीय प्रणालीमा १२ एसपी क्षमताको पाईपबाट पानी माथि तानिएको छ । यसरी पानी लिफ्टीङ सफल हुनु नै गाउँका लागि खानेपानी योजना हुनु हो । योजनाका लागि गतवर्ष डिपिआर गरिएको थियो ।
वडा सदस्य इन्द्रबहादुर खनालका अनुसार विगतमा घण्टौ हिडेर खोलीखोल्सि र कुवा–पधेँराबाट पानी ल्याउनु पर्ने बाध्यता थियो । खानेपानी योजनाका लागि मुहान् नै नभेटिएका कारण नेवा संस्थाले वर्षातको पानी जम्मा गर्न घरघरमा घैला निर्माण गरिदिएको थियो । वर्षातको पानी जम्मा गरेर गाउँलेहरुले छ महिनासम्म प्रयोग गर्ने गर्दथे । गाईबस्तु, सरसफाई र पिउनका लागिसमेत प्रयोग गर्नुपर्दा गाउँलेहरु विरामी पर्दथे । घैलाको पानी पर्याप्त हुन्थेन । खोलीखोल्सी र कुवापधेँरा धाउनै पथ्र्यो । टाढा जानुपर्ने र उकालो हिड्नु पर्ने भएकाले त्यहाँ पुरुषहरुले पानी खोसार्ने गर्दथे ।
त्यस गाउँमा जनयुद्धकालमा माओवादी लडाकुले समेत पानी पिउन पाएका थिएनन् । गाउँलेले दुई घण्टा बोकेर ल्याएको र पिउन दिदा अमृत झै लागेको स्मरण गर्दै तत्कालिन माओवादी याेद्धा निरज पौडेलले आफुहरु त्यसबेलादेखि नै त्यहाँको खानेपानी समस्याबारे परिचित बनेको बताउनुभयो । “त्यस क्षेत्र संघीय सांसद सुरेशकुमार राईको परेकाले निर्वाचन विकास अन्तर्गत योजना पारियो” नेकपा प्रदेश कमिटि सदस्य एवम् योजना अनुगमन समितिका संयोजकसमते रहेका पौडेलले भन्नुभयो “योजना सफल भयो, गाउँलेहरुका साथसाथै हामी पनि उत्तिकै खुसी छौं ।” चुनावताका सांसद राईले खानेपानी समस्या हलकाे प्रतिवद्धता नै गर्नुभएकाे थियाे । उक्त ठाउँमा पूर्वमाअाेवादीका जिल्ला, प्रदेशदेखि केन्द्रसम्मकै नेताहरुले सेल्टर लिएका थिए ।
अहिलेको खानेपानी आयोजनाले त्यहाँको खानेपानी समस्या हल भएको छ । अबका दिनमा पिउन, नुहाउन, लुगा धुन, चर्पीमा प्रयोग गर्न र सरसफाइका लागि पर्याप्त भएको गृहिणी शोभा खड्काले बताउनुभयो ।
पानीको पर्याप्तताका कारण गाउँमा पशुपालन फस्टाउने भएको छ । प्रशस्त हरियो घाँस पाइने सो ठाउँमा अब, पशुपालनका लागि प्रशस्त पानी भएको स्थानीय टेकबहादुर पुलामी मगरले बताउनुभयो ।
हिजोको दिनमा घण्टौं पानी ओसार्ने समय अव कृषि, आयआर्जनमा प्रयोग गर्न सकिने भएको छ । बतासे गाउँलाई दुध उत्पादनका लागि गाई, भैसी पालन, मासु उत्पादनका लागि खसीबाख्रा, राँगा, बंगुरपालनको राम्रो सम्भावना भएको वडासचिव खिलराज कार्कीले बताउनुभयो ।
गाउँमा विजुली पुगेको छ । कच्ची नै भएपनि सडक खनिएको छ । बाँकी एउटा मुख्य आवश्यकता खानेपानी, त्यो पनि पुरा भएको छ । अब, त्यसठाउँमा समृद्धीका लागि विकास पूर्वाधार तयार भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले बताउनुभयो ।
विशेषगरी कृषितर्फ पशुपालन र तरकारी, फलफुल उत्पादनबाटै त्यसठाउँको समृद्धि हुने देखिएको नेकपा जिल्ला नेता देव गिरीले बताउनुभयो ।
योजना सम्पन्न भएको अबसरमा गाउँलेहरुले सोमबार खुसियाली मनाए । स्थानीय समाजसेवी तथा वडा सदस्य खनालले वर्षौको पानीको समस्या हल भएको खुसियालीसंगै भोज नै खुवाउनुभयो । त्यस अवसरमा संघीय सांसद राईले पठाएको समृद्धिको शुभकामना सन्देश अनुगमन संयोजक पौडेलले गाउँलेहरुलाई सुनाउनुभयो । कोरोना जोखिमका कारण योजना उद्घाटनका लागि औपचारिक कार्यक्रम नराखिएको पनि उहाँले जानकारी दिनुभयो ।
तस्विरहरू :



