Saturday, June 27News That Matters

संविधान संशोधन विधेयक सर्वसम्मतिबाट स्वीकृत

पूर्णपुष्टि, जेठ २८, गते । 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन । बैठकले यो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो । स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेस गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध भएको छ । यो विधेयकमा विचार गरियोस् भनी हिजोको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बाहाङ्फेले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

सत्तापक्ष र प्रतिपक्षी दलले एकै स्वरले संशोधनप्रति समर्थन गरेकोमा मन्त्रि तुम्बाहाङ्फेले खुसी व्यक्त गर्दै संविधान संशोधनसँग जोडिएका अन्य विषयवस्तुमा आउँदा दिनमा छलफल गरिने बताउनुभयो । उहाँले सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानले चिह्नका लागि संशोधन ल्याइएको र सबै दल र सांसद एक ठाउँमा उभिएको पाउँदा सबै नेपाली प्रसन्न भएको उल्लेख गर्नुभयो ।

हामी हाम्रो भूमि फिर्ता लिएर भोगचलन गरेरै छाड्ने मन्त्रि तुम्बाहाङ्फेले ठोकुवा गर्नुभयो । प्रतिनिधि सभाको अर्काे बैठक यही जेठ २८ गते बुधबार बिहान ११ बजे बस्नेछ ।