
पूर्णपुष्टि, वैशाख ३०
सगरमाथा आरोहणको क्रममा दुई आरोहीको बाटोमै मृत्यु भएको छ । स्वीट्रल्याण्डका आरोही अब्दुल वाहेद वारिच, अमेरिकी नागरिक लिउ पुवेईको आज सगरमाथा आरोहणको क्रममा मृत्यु भएको हो ।
आरोहण पुरा गरि फर्केर साउथ समिटमा बसेका स्वीट्रल्याण्डका आरोही वाहेद वारिचको सोही स्थानमै मृत्यु भएको आधार शिविरबाट पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यले बताउनुभयो ।
उनको बसेकै स्थानमा मृत्यु भएको छ । उद्दारका लागि शेर्पा सहयोगी पठाउँदा प्रतिकुल मौसमका कारण जान नसकेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकलाई उधृत गर्दै आचार्यले जानकारी दिनुभयो ।
त्यसैगरी आज नै अमेरिकी नागरिक पुवेईको समेत क्याम्प ४ मा मृत्यु भएको छ ।
उनी आरोहणमा जाँदा हिलारी स्टेपमा पुग्दा उनलाई समस्या देखिएको थियो । त्यसपछि चुचुरो नलगी क्याम्प ४ मै फर्काइएको थियो । उनको क्याम्प ४ मा ल्याउँदा बाटोमै ज्यान गएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।
सगरमाथामा यो वर्ष १ सय ५० भन्दा बढी आरोहीले सफल आरोहण गरेका छन् । आरोहणका लागि अनुकुल मौसम तत्कालका लागि सकिएको छ । अब २० मे पछि धमाधम थप आरोहण हुने आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
