
३० असार, २०८३ । उदयपुर
सगरमाथा राजमार्गको गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत त्रियुगा नगरपालिका १५ छामलिङ र अधेँरीमा गएरातीको पहिरोले सडक अवरुद्ध बनेको छ । रातीको वर्षातले पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सो सडक हुँदै सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प बनेको छ ।
स्थानीय निर्माण ब्यवसायीको जेशिवि मेसिन प्रयोग गरी पहिलो पन्साउने प्रयास भईरहेको स्थानीयले बताएका छन् । हिजो पनि सोही ठाउँहरुमा पहिरोले सडक अवरुद्ध पारेकोमा दिउसो अबेरमात्र अवरोध हटाइएको थियो । अवरोध हटाइएपछि बेलुकासम्म यातायात सञ्चालन भएपनि आज पुनः अवरुद्ध भएको यातायात ब्यवसायी मिलन बिकले पूर्णपुष्टिलाइ बताए । गाईघाट दिक्तेल सडक योजना कार्यालयका सुचना अधिकारी सुमन गोलेका अनुसार हाल पहिरो पन्छाउने काम भइरहेको छ । “त्यस क्षेत्रका सम्बन्धीत निर्माण ब्यवसायीकै तर्फबाट आवश्यक मर्मत तथा पहिरो पन्छाउने काम भइरहेको छ” – गोलेले भन्नुभयो ।
बर्षामा पहिरोका कारण सो राजमार्गमा सडक सास्ती बढेको छ । ठाउँठाउँमा सडक भत्किेने र पहिरोले पुर्ने समस्या आइरहदा यातायात सेवा प्रभावित हुनुका साथै यात्रुहरुलाई सास्ती परेको छ । सोही सडक अन्तर्गत रसुवापुल नजिकैको राकुली खोलाको बाढीले पनि यातायात अवरुद्ध पार्ने गरेको छ । गाईघाटबाट गएका सवारी साधन सोही खोलाको बाढीले अबरुद्ध हुने गरेपछि त्यहीबाट फर्कने गरेको छ । त्यहाँ झरेका यात्रुहरु हिड्दै रसुवापुलसम्म पुग्नुपर्ने अवस्था छ ।
रसुवाको कोशीको पुल बगाएपछि विकल्पमा बेलीब्रीज लगाईएको थियो । बर्षा सुरुसंगै बेलिब्रीज उठाइएपछि हाल खोटाङसंगको सिधा यातायात संयन्त्र रसुवामा टुटेको छ । त्यसक्षेत्रमा आवतजावत गर्ने यात्रुहरु उदयपुरको गाईघाटबाट रसुवासम्म पुगेर पुलपारीबाट अर्कै सवारी साधन बदलेर खोटाङतर्फको यात्रा गर्नुपर्ने बाध्यता छ । खोटाङबाट उदयपुरतर्फ आउदा पनि उहाँ अवस्था छ ।
यसले यात्रुहरुलाई सास्ती थपिएको छ । बालबालिका, बृद्धबृद्धा, अशक्त, विरामीलाई हिडेर पुल तर्नुपर्ने समस्या छ । साथै झोला, भारी पनि मानिसले बोकेर तार्नुपर्ने बाध्यता छ । उता शिद्धिचरण राजमार्ग अन्तर्गत कटारी–घुर्मी सडकखण्ड अन्तर्गतको विभिन्न ठाउँका पहिरोले अबरुद्ध सडक पन्छाएर यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले बताए ।
